करको दर होइन, दायरा र उत्पादन बढाएर समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर वृद्धि गरेर मात्र राजस्व संकलन नबढ्ने भन्दै उत्पादन, लगानी र रोजगारी विस्तारमार्फत करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने यस वर्षको नारालाई औपचारिकतामा मात्र सीमित नराखी राज्य सञ्चालनको व्यवहारिक आधार बनाउनुपर्ने उहाँको भनाइ थियो।

​मुख्यमन्त्री थापा मगरले नागरिकमाथि अनावश्यक करको भार थोपर्नुभन्दा आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने क्षमतावान् नागरिक र व्यवसायको संख्या वृद्धि गर्नु सरकारको मुख्य लक्ष्य हुनुपर्ने स्पष्ट पार्नुभयो। आर्थिक क्षमता बढी हुनेले सोहीअनुसार योगदान गर्ने र न्यून आय भएका वर्गलाई राहत पुग्ने खालको न्यायपूर्ण कर प्रणालीले मात्र सामाजिक न्याय र आर्थिक समावेशीकरण स्थापित गर्ने उहाँले धारणा राख्नुभयो। इमानदार करदातालाई प्रोत्साहन गर्दै कर छली तथा राजस्व चुहावट गर्ने प्रवृत्तिलाई कडाइका साथ अन्त्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

​नागरिकले तिरेको करको एक–एक रुपैयाँको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। सरकारको सफलता कति बजेट खर्च भयो भन्ने तथ्यांकमा नभई त्यसले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत सेवासुविधामा कस्तो गुणात्मक सुधार ल्यायो भन्ने आधारमा मापन हुनुपर्ने उहाँको जिकिर थियो। बाह्य ऋण र अनुदानको निर्भरता कम गर्दै आन्तरिक राजस्व परिचालनमार्फत प्रदेश र स्थानीय तहलाई वित्तीय रूपमा आत्मनिर्भर बनाए मात्र संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उहाँले बताउनुभयो।

​युवा पलायन रोक्न स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याउँदै मुख्यमन्त्री थापा मगरले निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै उहाँले किसानले उचित मूल्य पाउने, श्रमिकले रोजगारी पाउने र लगानीकर्ताले नीतिगत स्थिरता तथा सुरक्षा महसुस गर्ने अर्थतन्त्र निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

​कार्यक्रममा उहाँले बदलिँदो डिजिटल युगअनुसार कर प्रशासनलाई आधुनिक र सेवाग्राहीमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। कर कार्यालयलाई नागरिकका लागि डर र झन्झटको थलो नभई सहज सेवा र सहजीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो। करदाताको सम्मान, निजी क्षेत्रको लगानी र सार्वजनिक स्रोतको पारदर्शी उपयोग हुन सकेमात्र समृद्धिको प्रतिफल आमनागरिकसम्म पुग्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकार परिणाममुखी विकासको दिशामा अग्रसर रहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.