हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलले आश्रित वृद्धवृद्धाहरूको स्वास्थ्य उपचार सहयोगार्थ सञ्चालन गरेको सामूहिक देउसी भैलो कार्यक्रम आज भव्यताका साथ समापन भएको छ। आश्रम परिसरमै मकवानपुरका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा, जनप्रतिनिधि र आश्रयस्थलका ज्येष्ठ नागरिकहरूसँगै देउसी भैलो खेलेर कार्यक्रमको समापन गरिएको हो।
हेटौँडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा खेलिएको देउसी भैलो तथा देश–विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त रकमसहित कुल ७ लाख १४ हजार २११ रुपैयाँ सङ्कलन भएको छ। उक्त सङ्कलित रकम ज्येष्ठ नागरिकहरूको दीगो स्वास्थ्य उपचारका लागि स्थापना गरिएको स्वास्थ्य सेवा कोषमा जम्मा गरिने आश्रयस्थलले जनाएको छ।
यसै सन्दर्भमा दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका केन्द्रीय अध्यक्ष टि.आर. निरौलाले देउसी भैलो अभियानको उपलब्धि र आश्रमले सञ्चालन गरिरहेका सामाजिक सेवाहरूबारे विस्तृत जानकारी गराउनुभएको छ। उहाँका अनुसार निकेतनमा आश्रित ज्येष्ठ नागरिकहरूका साथै हेटौँडा–१५ का गरिब तथा विपन्न नागरिकहरूलाई लक्षित गरी आश्रममै स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।
स्टाफ नर्सको नियमित व्यवस्था रहेको उक्त स्वास्थ्य केन्द्रबाट आसपासका गाउँका बासिन्दाहरूले निःशुल्क फिजियोथेरापी लगायतका आधारभूत स्वास्थ्य सेवा लिइरहेका छन्। ज्येष्ठ नागरिकहरूको पालनपोषण र स्वास्थ्य उपचारसँगै निकेतनले आर्थिक अवस्था कमजोर भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गरी पठनपाठनको व्यवस्थासमेत मिलाउँदै आएको अध्यक्ष निरौलाले बताउनुभयो।



















