सुकुटे–२१ किलो सडक कालोपत्रेलाई बहुवर्षीय योजनामा समेटिने, मन्त्री पौडेलद्वारा स्थलगत अवलोकन

सिन्धुपाल्चोक, २८ कात्तिक । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले प्रदेश लोकमार्गअन्तर्गत पर्ने सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा–२१ किलो सडकखण्डको स्तरोन्नति र कालोपत्रेका लागि बहुवर्षीय योजना अगाडि सारिने बताउनुभएको छ। निवर्तमान संघीय सांसद माधव सापकोटा, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्राविधिकहरूसहित सुनकोसी गाउँपालिका–१ र २ तथा लिसंखुपाखर क्षेत्रको सडक अनुगमन गर्दै मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो।

​अवलोकनका क्रममा मन्त्री पौडेलले यो सडकले स्थानीयको दैनिक आउजाउमा सहजता ल्याउनुका साथै समग्र भेगकै आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। मुख्य लोकमार्गसँगै ग्रामीण भेगका शाखा बाटाहरूको समेत सुधार गरी स्थानीय कृषि उपज, बजार र पर्यटकीय गन्तव्यलाई यातायात सञ्जालमा जोड्ने विषय प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो।

​सडक अनुगमनकै सिलसिलामा मन्त्री पौडेलसहितको टोलीले लिसंखुपाखर–२, घ्याङडाँडामा रहेको झ्याङछ्यु छ्योइलिङ गोन्पाको निरीक्षण गर्दै त्यहाँका निर्माणाधीन संरचनालाई पूर्णता दिने विषयमा स्थानीय सरोकारवालासँग छलफल गरेको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै त्यसलाई पर्यटन विकाससँग जोड्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ थियो।

​विकास आयोजनाको छनोटदेखि कार्यान्वयन तहसम्म आम नागरिकको वास्तविक आवश्यकता र प्रत्यक्ष हितलाई सर्वोपरि राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो। सीमित बजेट र स्रोतसाधनको उच्चतम सदुपयोग गर्दै वर्षौंदेखि अलपत्र तथा प्रतीक्षित पूर्वाधार योजनाहरूलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.