मकवानपुरको चिसपानीगढी ईभी दुर्घटना: चालकसहित १४ जनाको निधन, ६ घाइतेको उपचार र डिस्चार्ज

मकवानपुरको भिमफेदी गाउँपालिका–६ चिसपानीगढीस्थित सडक खण्डमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परी चालकसहित १४ जनाको मर्मस्पर्शी निधन भएको छ। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेर भएको यस भीषण दुर्घटनामा १० जनाको घटनास्थलमै र खोजी तथा उद्धारका क्रममा फेला परेका थप ३ जनाको शव साँझ १८:०० बजे हेटौंडा अस्पताल ल्याई सनाखत गरिएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको कुल संख्या १४ पुगेको छ।

​मृत्यु हुनेहरूमा चालक सर्लाहीको कविलासी गाउँपालिका–८ बस्ने ३० वर्षीय रवि शंकर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने राम प्रसाद राय यादव, १७/१८ वर्षीय सुधेश यादव, ३५–३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०–३२ वर्षीया गायत्री देवि, अवधेश यादवकी श्रीमती २८ वर्षीया पुनम यादव, र उनका छोरीहरू ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव तथा १० वर्षीया अनु कुमारी यादव रहेका छन्। यसैगरी, सोही स्थानका २५–२६ वर्षीय राम दुलार यादव, २४–२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा परी निधन भएको पुष्टि भएको छ।

​घटनालगत्तै सुरक्षा निकायबाट खटिएको उद्धार टोलीले घटनास्थलबाट गम्भीर तथा मध्यम घाइते अवस्थामा उद्धार गरिएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो। घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव सामान्य उपचारपश्चात सोही दिन दिउँसो १:४० बजे डिस्चार्ज भइसकेका छन् भने टाउको र मुखमा चोट भएका ३ वर्षीय सुजन यादव र १४ महिनाका बालक सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। यस्तै, मध्यम घाइते भएका बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारको लागि मनकामना अस्पताल भरतपुर रिफर गरिएको छ भने २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भइसकेका छन्।

​घटनास्थलमा बागमती प्रदेश प्रहरी गण हेटौंडाबाट प्रहरी निरीक्षक कृष्ण पुडासैनीको नेतृत्वमा १३ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट ४ जना गरी थप १७ जनाको सुरक्षा टोली खटिएर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको थियो। बिहानदेखि घटनास्थलमा खटिएको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्पूर्ण संयुक्त टोलीले खोजी कार्य सम्पन्न गरेसँगै हाल उद्धार टोली फिर्ता भएको छ।

​यस दुःखद दुर्घटनाको कारण पत्ता लगाउन र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिनका लागि छानबिन समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभएको छ। अचानक भएको यस ठूलो मानवीय क्षतिले सर्लाहीको चक्रघट्टा क्षेत्र र सम्पूर्ण मकवानपुर जिल्लालाई शोकमा डुबाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.