राजनीतिक दाउपेच र सार्वजनिक आलोचनालाई भाषणले नभई ठोस काम र नतिजाले जवाफ दिने रणनीतिमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नेतृत्व ओर्लिएको छ। विगतमा आफ्ना भौतिक संरचना ध्वस्त भई खरानी बनेको संकटपूर्ण अवस्थाबाट पुनर्उत्थानको बाटो समातेको वडा प्रशासनले अहिले जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार निर्माण र पुराना समस्याको दिगो समाधानलाई प्राथमिकता दिएको छ। हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार, सडकका विरोध र सञ्जालका बहसभन्दा माथि उठेर जनताले महसुस गर्ने गरी कामको नतिजा देखाउने अभियान अहिले तीव्र पारिएको छ।
यस अभियानअन्तर्गत वर्षौँदेखि स्थानीयले सास्ती खेप्दै आएको भैरवरोड क्षेत्रको डुबान र ढल निकासको समस्या समाधानका लागि सरकारी प्रक्रिया पूरा गरी द्रुत गतिमा मर्मत तथा पुनःनिर्माण भइरहेको छ। भौगोलिक जटिलता, साँघुरो संरचना र निरन्तरको वर्षाका बाबजुद भैरवरोड–चिसापानी क्षेत्रका ब्लक भएका ढलका चेम्बर सफा गर्ने र हुप्राको पानी ट्याङ्कीबाट पशुपति जाने सडकको स्तरीकरण गर्ने काम अघि बढाइएको छ। विगतमा तीव्र आलोचना खेपेको लोकतान्त्रिक चौर (हुप्रा) स्थित ज्येष्ठ नागरिक कक्ष निर्माण सम्पन्न भई अहिले ज्येष्ठ नागरिक र सार्वजनिक कार्यक्रमका लागि फलदायी बनेसँगै पूर्वाधार निर्माणप्रतिको पूर्वअनुमान र विरोधको सान्दर्भिकता गलत सावित भएको छ।
विकास निर्माणलाई राजनीतिक मतभेदभन्दा माथि राखेर सामूहिक उत्तरदायित्वका रूपमा लिनुपर्ने सन्देश दिँदै वडा नेतृत्वले रचनात्मक आलोचनालाई आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। राजनीतिक र प्रशासनिक अवरोधबीच पनि जनहितका कामबाट पछि नहट्ने अडानका साथ हेटौँडा–४ ले सुरु गरेको यो ‘परिणाममुखी कार्यशैली’ले स्थानीय तहमा कामको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।










