पशुपतिनगर हेल्थ क्लबले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि रु. ५४,५६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको छ। क्लबका सदस्यहरूबाट सङ्कलित उक्त रकम संकटको घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले उद्धार कोषमार्फत हस्तान्तरण गरिएको हो।
अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक सम्पर्कविहीन भएको खबरले स्तब्ध बनेको क्लब परिवारले उद्धार र राहतमा हातेमालो गर्ने निर्णय लिएको थियो। “एक नेपालीलाई विपत् पर्दा अर्को नेपालीले आफ्नै पीडा महसुस गर्छ” भन्ने भावनाका साथ सदस्यहरूलाई स्वेच्छिक सहयोगको आह्वान गरिएको क्लबले जनाएको छ।
विपत्को समयमा क्लबका सदस्यहरूले देखाएको यो खुला हृदय र सहयोगी हातप्रति क्लब परिवार, अध्यक्ष प्रचण्ड प्रधान तथा कार्यवाहक अध्यक्ष प्रेमप्रसाद बोलखेले सम्पूर्ण दाताहरूलाई व्यक्तिगत एवं संस्थागत रूपमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। नागरिक स्तरबाट उठेको सानो सहयोगले पनि प्रभावित क्षेत्रमा ठूलो राहत पुर्याउने विश्वास लिइएको छ।
बाढीका कारण ज्यान गुमाएकाहरूप्रति क्लबले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्ति कामना गरेको छ। साथै, सोकाकुल परिवारजनमा आइपरेको यो ठूलो बज्रपात र पीडा सहन सक्ने शक्ति मिलोस भन्दै क्लबले गहिरो समवेदना व्यक्त गरेको छ।
हालसम्म सम्पर्कविहीन रहेका नागरिकहरूको यथाशीघ्र सकुशल उद्धारको खबर सुन्न पाइयोस् भन्ने कामना गर्दै क्लबले विपत्को यस घडीमा सबैलाई एकताबद्ध भएर जुध्न र प्रभावितहरूको सहयोगमा जुट्न आह्वान समेत गरेको छ।










