जेन्जी आन्दोलनमा भीमफेदीबाट भागेका कैदी वनस्पतिबाट पक्राउ: सोही क्रममा फरार ३८५ जना पुनः प्रहरी नियन्त्रणमा

हेटौँडा। जेन्जी (Gen Z) आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागार र बाल सुधार गृहबाट भएको सामूहिक फरार कैदीहरूलाई कानुनको दायरामा ल्याउने क्रम तीव्र बनेको छ। सोही क्रममा आन्दोलनको मौका छोपेर कारागारबाट भागेका डाँका चोरी मुद्दाका एक फरार कैदीलाई सोमबार (भदौ २४ गते) हेटौँडाको वनस्पतिबाट प्रहरीले पक्राउ गरेको छ। यससँगै आन्दोलनका क्रममा दुवै स्थानबाट फरार भएका कुल ५१२ जनामध्ये ३८५ जना पुनः प्रहरी नियन्त्रणमा आएका छन्।

​जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक सेवा केन्द्र वनस्पतिबाट खटिएको संयुक्त टोलीले दिउँसो १:३० बजे हेटौँडा उपमहानगरपालिका-१३, वनस्पतिस्थित घर नजिकैको बाटोमा हिँडिरहेको अवस्थामा ३९ वर्षीय सन्त बहादुर तितुङलाई पक्राउ गरेको हो।  सन्त बहादुर जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ भने पुन: कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

​प्राप्त तथ्याङ्क अनुसार, जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट कुल ४४० जना कैदीहरू (४०२ स्वदेशी र ३८ विदेशी) फरार भएका थिए। प्रहरीले हालसम्म ३०० स्वदेशी र १८ विदेशी गरी ३१८ जना कैदीहरू पक्राउ परिसकेका छन्। अब कारागारतर्फ १०२ जना स्वदेशी र २० जना विदेशी गरी १२२ जना कैदीहरू मात्र फरार सूचीमा बाँकी रहेका छन्।

​त्यसैगरी सोही आन्दोलनका क्रममा बाल सुधार गृहबाट भागेका ७२ जना बाल बिज्याईँकर्ताहरू (७० स्वदेशी र २ विदेशी) मध्ये ६७ जना (६५ स्वदेशी र २ विदेशी) नियन्त्रणमा आइसकेका छन्। बाल सुधार गृहबाट फरार भएकाहरूको हकमा प्रहरीले अब मात्र ५ जना स्वदेशी बाल बिज्याईँकर्ताहरू पक्राउ पर्न बाँकी छन्। समग्रमा, दुवै स्थानबाट फरार ४० विदेशी नागरिकमध्ये २० जना नियन्त्रणमा आएका छन् भने २० जना अझै फरार छन्।

​स्थानीय सामुदायिक सेवा केन्द्र र प्रहरीको सक्रियताका कारण फरार कैदीहरू आफ्नै गाउँ-ठाउँ आसपासबाट पक्राउ पर्न थालेका छन्। आन्दोलनको आडमा भागेका कुल ५१२ जनामध्ये ३८५ जना पक्राउ परिसकेकाले बाँकी रहेका १२७ जना (१२२ कैदी र ५ बाल बिज्याईँकर्ता) को खोजीका लागि सीमा क्षेत्र तथा सम्भावित स्थानहरूमा कडा निगरानी राखिएको छ। प्रहरी प्रशासनले बाँकी फरारहरूलाई पनि चाँडै नियन्त्रणमा लिइने दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.