हेटौडा, १३ पदमपोखरी — हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरीको हरियाली टोलमा नवनिर्मित भुवनेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक मूर्ति प्राण प्रतिष्ठा सम्पन्न भएको छ। स्थानीय धर्म, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ निर्मित उक्त मन्दिरको स्थापनासँगै हरियाली टोलमा नयाँ धार्मिक उत्साह छाएको छ।
सो विशेष समारोहका बिच नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको हातबाट मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो। वैदिक मन्त्रोच्चारणका बीच पूजाआजा सम्पन्न गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले स्थानीय तहमा हुने यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले समाजमा भाइचारा, आपसी सद्भाव र नैतिक मूल्यमान्यता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
स्थानीय बासिन्दाहरूको सक्रियता र सामूहिक प्रयासबाट निर्माण सम्पन्न भएको यस मन्दिरले आगामी दिनमा पदमपोखरी क्षेत्रकै प्रमुख धार्मिक तथा आस्थाको केन्द्रका रूपमा पहिचान बनाउने विश्वास लिइएको छ। कार्यक्रममा टोल विकास समितिका प्रतिनिधि, स्थानीय बुद्धिजिवी तथा सर्वसाधारण भक्तजनहरूको उपस्थिति रहेको थियो।










