हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको औपचारिक संवैधानिक बाटो खुलेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री बानियाँको राजीनामा भदौ १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गर्दै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै बागमती प्रदेशको राजनीति नयाँ सत्ता समीकरण र नेतृत्व चयनको दिशामा मोडिएको छ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रक्रिया आह्वान गरिएको छ। जसअनुसार बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न भनिएको छ। इच्छुक दल तथा सांसदहरूलाई आगामी भदौ ४ गते बिहीबार अपरान्ह ४:०० बजेभित्र प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गर्ने समयसीमा प्रदान गरिएको छ।
मुख्यमन्त्री बानियाँको बहिर्गमन र प्रदेश प्रमुखबाट आएको नयाँ सरकार गठनको आह्वानसँगै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक छलफल र समीकरणको कसरत तीव्र बनेको छ। निर्धारित समयसीमाभित्र बहुमत पुर्याएर नयाँ सरकारको नेतृत्व कसले हत्याउने भन्ने विषयमा राजनीतिक दलहरू सम्भावित गठबन्धन र शक्ति सन्तुलनको लेखाजोखामा व्यस्त देखिएका छन्।









