हेटौँडा। बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकले बजेट विनियोजन प्रक्रियामा मन्त्रीहरूले मनोमानी गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। आज बसेको बागमती प्रदेश सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पाठकले संसद् र संसदीय समितिहरूले सिफारिस गरेका विकासका योजनाहरूलाई मन्त्रीहरूले नियतवश बेवास्ता गरेको आरोप लगाउनुभयो। जनताका वास्तविक आवश्यकता र मागलाई सम्बोधन गर्न संसद्मार्फत पठाइएका योजनाहरू व्यापक कटौती गर्ने र मन्त्रीहरूले आफ्नै ढंगले खल्तीका योजनामा बजेट खन्याउने जस्ता विकृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोडदार माग गर्नुभयो।
बैठकमा आफ्ना तार्किक भनाइहरू राख्दै सांसद पाठकले बजेट निर्माणको निश्चित विधि, मूल्य र स्थापित मान्यता हुने उल्लेख गर्नुभयो। बजेट प्रक्रिया प्रणालीभन्दा बाहिर जान नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बजेट बनाउने प्रक्रिया र बजेट निर्माण गर्ने सिद्धान्तहरूमा बाटो बिराउँदै जाने हो भने जनताको मन छुने गरी बजेट आउन सक्दैन।” संसद्लाई उपेक्षा गरेर र निश्चित सिद्धान्तहरूभन्दा बाहिर गएर ल्याइने बजेटले प्रदेशको सन्तुलित विकास गर्न नसक्ने भन्दै उहाँले तत्काल यस्ता त्रुटिहरू सच्याउन र जनमुखी बजेट सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।









