हेटौँडा। स्वास्थ्य, शान्ति र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल चौरमा आगामी कार्तिक १३ गतेदेखि १७ गतेसम्म निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। ‘घरघरमा योग, जनजनमा योग, सबै निरोग सदा मेरो आरोग्य नागरिक’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको शिविरबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा योग अभियान्ताहरू रामकृष्ण थापा, राजन थापालगायतको उपस्थिति रहेको थियो।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष लवदेव मिश्रले मुख्य प्रशिक्षकका रूपमा योग अभ्यास गराउनुहुनेछ। शिविरमा करिब १५ सय जना योगप्रेमी तथा नगरवासीहरूको सहभागिता रहने आयोजकले अनुमान गरेको छ। सहभागीहरूका लागि योग गर्ने म्याटको व्यवस्थापन स्वयम् आयोजक समितिले नै मिलाउने जनाएको छ।
पाँच दिनसम्म सञ्चालन हुने शिविरको समुद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाज्यूबाट हुने कार्यक्रम तय गरिएको छ। त्यस्तै, दोस्रो दिन अर्थात् १४ गते वडा नम्बर ६, ७ र ८ का वडाध्यक्षहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी दैनिक सत्रको थालनी गर्नेछन् भने १५ गते हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, १६ गते जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र अन्तिम दिन १७ गते बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको आतिथ्यतामा भव्य रूपमा समापन गरिनेछ।
शिविर सञ्चालनका लागि हेटौँडा–७ वडा कार्यालयले २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ भने बाँकी रकम अन्य सहयोगदाताहरूबाट व्यवस्थापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो। यसैगरी, दूरदराज तथा नजिकका वडाभन्दा टाढाबाट आउने सहभागीहरूका लागि विभिन्न विद्यालयका बसहरूसँग समन्वय गरी यातायातको सहज व्यवस्थापन गरिने आयोजकले जनाएको छ।
स्वास्थ्य प्रवर्द्धनका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न योगको विशेष भूमिका रहने भएकाले शिविरमा उपस्थित भई अधिकतम लाभ लिन आयोजक समितिले सम्पूर्ण नगरवासी तथा योगप्रेमीहरूमा हार्दिक अपिल गरेको छ।



















