राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भवानीको पूजाआराधना, जात्रा सञ्चालनका लागि १ लाख सहयोग हस्तान्तरण

भक्तपुर, कात्तिक ८ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन एवम् पूजाआराधना गर्नुभएको छ। कला, संस्कृति र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा नवदुर्गा भवानीको मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेललाई स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा भक्तजनहरूले न्यानो स्वागत तथा अभिनन्दन गरेका थिए।

​उक्त विशेष धार्मिक कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा मुख्यमन्त्री थापाले कला र सम्पदाको धनी भक्तपुरमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई अत्यन्तै हर्षित तुल्याएको बताउनुभयो।

​यसै अवसरमा नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सहज सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरिएको छ। वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई १ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको हो। सो सहयोग रकमको चेक राष्ट्रपति रामचन्द्र पौडेल र मुख्यमन्त्री किरण थापाले संयुक्त रूपमा संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नुभयो।

​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा सुरक्षित रूपमा हस्तान्तरण गर्न वाग्मती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो। उहाँले यस्ता मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यलाई सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.