हेटौँडा । बडादसैँको विशेष पर्व नवरात्रअन्तर्गत महासप्तमीका दिन मकवानपुरको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र मानिने ऐतिहासिक भुटनदेवी मन्दिरमा भव्यताका साथ फूलपाती भित्र्याइएको छ। सनातन धार्मिक परम्परा अनुसार नौ प्रकारका शुभ वनस्पती (नवपत्रिका) लाई देवीका विभिन्न स्वरूपका रूपमा पूजा-आराधना गर्दै मन्दिर प्राङ्गणमा भित्र्याइएपछि मकवानपुरवासीमा दशैँको रौनक झनै चुलिएको छ।
हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती रोडमा रहेको गोरक्षेश्वर मन्दिरबाट सुरु भएको धार्मिक शोभायात्रा सांस्कृतिक बाजागाजा र भक्तिमय वातावरणका साथ भुटनदेवी मन्दिर प्राङ्गण पुगेको थियो। फूलको सजाइएको डोली र वैदिक मन्त्रोच्चारणसहित निकालिएको पदयात्राले नगर परिक्रमा गर्दा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। गोरक्षेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तम शर्मा ढकालको नेतृत्वमा सम्पन्न यस शोभायात्राले हेटौँडाको धार्मिक सहिष्णुता र परम्परालाई जीवन्त तुल्याएको छ।
फूलपाती भित्र्याउने यस विशेष अवसरमा भुटनदेवी मन्दिर प्राङ्गणमा नेपाली सेनाको गोरखबहादुर गण, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टरका प्रमुख एवम् सुरक्षाकर्मीहरूले सलामी अर्पण गरेका थिए। राष्ट्रिय पोसाक तथा औपचारिक पोसाकमा सजिएका अधिकारीहरू र स्थानीय सर्वसाधारणले एकसाथ अनुशासित रूपमा उभिएर भुटनदेवीमा भक्तिभाव प्रकट गर्दा मन्दिर क्षेत्रको दृश्य निकै आकर्षक र गौरवमय देखिएको थियो।
धार्मिक मान्यता अनुसार फूलपातीका रूपमा भित्र्याइने केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीजस्ता नौ प्रकारका पातहरूमा ब्रह्माणी, लक्ष्मी, दुर्गा, चामुण्डालगायतका नवदेवीको आवाहन गरी सोह्र सामग्रीले पूजा गरिन्छ। भुटनदेवी मन्दिरमा भित्र्याइएको नवपत्रिकाले सम्पूर्ण नगरबासीमा सुख, शान्ति र समृद्धिको सञ्चार गर्ने जनविश्वास रहेको छ। यस दिन किसानहरूले खेतबाट धानका बाला घर-मन्दिरमा भित्र्याउने र पुस्तक, कापी, कलम तथा सरस्वतीको पनि पूजा गर्ने परम्परा रहिआएको छ।
हेटौँडाको ऐतिहासिक पहिचानसँग जोडिएको भुटनदेवी मन्दिरमा दशैँको अवसरमा हरेक वर्ष यस्तै भव्य धार्मिक गतिविधिहरू हुँदै आएका छन्। सुरक्षा निकाय, मन्दिर व्यवस्थापन समिति र आम नागरिकको ऐक्यबद्धतामा सम्पन्न यस फूलपाती कार्यक्रमले हेटौँडामा सांस्कृतिक भाइचारा, आस्था र दसैँको उमङ्गलाई अझ उकासेको छ।



















