महिला दुर्व्यवहार आरोपमा रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार, धम्की र शङ्कास्पद आर्थिक लेनदेन गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन सुरु गरेको छ। सञ्चारमाध्यममा प्रकाशित समाचार र सार्वजनिक भएका श्रव्य (अडियो) सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले छानबिनको निष्कर्ष नआगुञ्जेल सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

​रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील रहेको उल्लेख छ। पार्टीले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्दै आफ्ना प्रतिनिधि वा सदस्यमाथि लाग्ने यस्ता गम्भीर आरोपहरूलाई सामान्य रूपमा लिन नसकिने र महिलामाथि हुने दुर्व्यवहार तथा फौजदारी कसुरमा ‘शून्य सहनशीलता’को नीति रहेको स्पष्ट पारेको छ।

​यस विषयको सत्यतथ्य अन्वेषणका लागि रास्वपाले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक कार्यक्रमहरूमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

​साथै, सार्वजनिक भएका यी विषयहरूको गम्भीरतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा रास्वपाले विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले ‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने मान्यताका आधारमा छानबिनको निष्कर्ष अनुसार थप कदम चालिने र कानुन उल्लङ्घन गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण नदिइने स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.