बाढी प्रभावित बालबालिकाको कक्षा १२ सम्मको शिक्षा प्रदेश सरकारले सुनिश्चित गर्ने

गोदावरी (ललितपुर)। बागमती प्रदेश सरकारले बाढी पहिरोका कारण अभिभावक गुमाएका बालबालिकाको कक्षा १२ सम्मको अध्ययनको पूर्ण जिम्मेवारी लिने भएको छ। ललितपुरको गोदावरीमा आयोजित बृहत् सांगीतिक तथा सांस्कृतिक गोदावरी महोत्सव–२०८३ को उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले यस्तो घोषणा गर्नुभएको हो। सरकारले बालबालिकाहरूलाई आवासीय विद्यालयमा राखेर वा परिवारलाई मासिक रूपमा आर्थिक राहत उपलब्ध गराएर पठनपाठनको निरन्तरता सुनिश्चित गर्ने तयारी गरिरहेको छ।

​उक्त शैक्षिक सहयोग कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश मन्त्रिपरिषद्ले छुट्टै कार्यविधि तयार गरी कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याएको मन्त्री पौडेलले जानकारी दिनुभयो। असोज २३ गते आयोजित कार्यक्रममा बोल्दै उहाँले रसुवा लगायतका जिल्लामा भोटेकोशीको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार, र पुनःस्थापनामा प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताउनुभयो। साथै, प्रभावित परिवारहरूका लागि अस्थायी आवास निर्माण र जीवन पुनःस्थापनामा आवश्यक सम्पूर्ण सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

​कार्यक्रमका क्रममा मन्त्री पौडेलले गोदावरी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको महत्त्वमाथि प्रकाश पार्दै यहाँको पर्यटन प्रवर्द्धनमा जोड दिनुभयो। ऐतिहासिक १२ वर्षे मेला र स्थानीय धार्मिक धरोहरहरूको संरक्षण तथा संवर्द्धनले गोदावरीको विशिष्ट पहिचान जोगाउनुका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

​विभिन्न इन्टरटेनमेन्टको आयोजना तथा गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा असोज २३ र २४ गते गोदावरी बसपार्कमा महोत्सव सञ्चालन भइरहेको छ। भोटेकोशी बाढी प्रभावित नागरिकहरूको अस्थायी आवास निर्माणका लागि सहयोग जुटाउने मूल उद्देश्यले आयोजित यस महोत्सवले विपद् प्रभावितलाई राहत पुर्‍याउनुका साथै स्थानीय कला, संस्कृति, पर्यटन र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.