हेटौँडा।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईहरूले असोज १४ गते जिल्लाका विभिन्न तीन स्थानबाट अवैध लागुऔषध खैरो हिरोइन, प्रतिबन्धित औषधि, नगद र सवारी साधनसहित ६ जनालाई नियन्त्रणमा लिएका छन्। साँझ करिब ७:१० बजे मनहरी गाउँपालिका–९ रजैयास्थित सार्वजनिक स्थलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शुद्ध तौल ४ ग्राम ८४ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका–१९ का ३० वर्षीय अभिषेक थिङ, २६ वर्षीय आकाश भुलुन र २३ वर्षीय रोहित ढुङ्गाना रहेका छन्।
दोस्रो घटनामा राति ८:३० बजे हेटौँडा–१ चाइना क्वाटरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३३ वर्षीय उमेश थिङको घरबाट प्रहरीले ३ ग्राम ८५० मिलिग्राम खैरो हिरोइन, १ थान डिजिटल तराजु र नगद रु. ११,००० बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त टोलीले घर खानतलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको हो। सोही कोठाबाट हेटौँडा–११ थानाभर्याङका ३५ वर्षीय बिमल श्रेष्ठ र उनले प्रयोग गरेको ना ४१ प ६८४४ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, तेस्रो घटनामा राति ९:१० बजे जिल्ला प्रहरी कार्यालय अगाडि चेकिङका क्रममा ना ३८ प ५६४ नम्बरको स्कुटर चालक हेटौँडा–११ थानाभर्याङका २० वर्षीय श्रोहित थिङ पक्राउ परेका छन्। निजको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल १० ट्याब्लेट र नाइट्राजेपाम ६ ट्याब्लेट फेला परेपछि प्रहरीले निज र स्कुटरलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै जनालाई प्रहरी हिरासतमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










