हेटौँडा, १५ असोज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेशको आयोजना तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको समन्वयमा “अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा व्यवस्था” सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मकवानपुर जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बिरुवा (गमला) मा पानी हालेर तथा ब्यानर वाचन गरी औपचारिक रूपमा उद्घाटन गरिएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री माननीय सरल सहयात्री पौडेलले समाजमा परापूर्वकालदेखि चल्दै आएका बोलीचाली, उखानटुक्का र हेलाहोचो गर्ने शब्दहरूले अपाङ्गता भएका व्यक्तिहरू लगायत पछाडि पारिएका वर्गको अपमान हुँदै आएको बताउनुभयो। वि.सं. २०४६ को परिवर्तन, २०६२/६३ को जनआन्दोलन र महान् जनयुद्धजस्ता ऐतिहासिक राजनीतिक क्रान्तिहरूले जनतामा व्यापक सचेतना अभिवृद्धि गर्दै राजनीतिक रूपमा सुसूचित गराएको उल्लेख गर्नुभयो। यस्ता विभेदकारी कुराहरू गलत हुन् भनेर कानुनमा लेखिसकिएको र दण्डनीय बनाइए तापनि अझै पनि पुराना सोच भएका व्यक्तिहरूबाट यस्ता शब्द र हेलाहोचो गर्ने व्यवहार कायमै रहेकाले यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्री पौडेलले यस्ता व्यवहार र विभेद अन्त्य गर्न कानुनी तथा व्यावहारिक रूपमा मन्त्रालयले अब विशेष कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारी, अतिथिका रूपमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईँ र एनजीओ महासंघ बागमती प्रदेशका अध्यक्ष कमल विश्वकर्माको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा सामाजिक विकास शाखा अधिकृत रामचन्द्र गिरिले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने एनजीओ महासंघका अध्यक्ष कमल विश्वकर्मा र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अपाङ्गतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नीति र विद्यमान व्यवस्थाहरूबारे सहभागी कर्मचारी तथा प्रतिनिधिहरूलाई स्पष्ट पार्न राष्ट्रिय अपाङ्ग महासंघका पूर्व महासचिव एडभोकेट राजु बस्नेतले मुख्य सहजीकरण गर्नुभएको थियो। कार्यक्रमले सरकारी कार्यालयका कर्मचारीहरू र सरोकारवालाहरूबीच अपाङ्गता अधिकार र कानुनी व्यवस्थाहरूबारे थप स्पष्टता एवं व्यावहारिक समझदारी विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।










