बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका १५ कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता सम्पन्न

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित एक विशेष कार्यक्रमका बीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीबीच मिति २०८३।०६।०५ मा सम्पन्न कार्यसम्पादन करारको आधारमा यो सम्झौता गरिएको हो। बागमती प्रदेश प्रहरी प्रमुख दिपक रेग्मीको उपस्थितिमा प्रदेश मातहतका १५ वटा प्रहरी कार्यालयका प्रमुखहरूसँग भौतिक उपस्थितिमै कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो।

​कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले गत आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरिएका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षा अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एलआरपी (LRP) मा १५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सवारी दुर्घटना र मानवीय क्षति १० प्रतिशतले घटाउने लक्ष्य राखिएकोमा सवारी दुर्घटना १७.२९ प्रतिशत र मानवीय क्षति १०.५८ प्रतिशतले कमी आएको छ। दंगा नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला तहसम्म नियमित २३१ पटक अभ्यासहरू सञ्चालन गरिएको जानकारी पनि सो अवसरमा दिइयो।

​अपराध अनुसन्धान तथा फैसला कार्यान्वयनका क्षेत्रमा समेत गत वर्ष उल्लेखनीय उपलब्धि हासिल भएको छ। दर्ता कसुरका कुल ५,७८४ अभियुक्त/शंकितमध्ये ८६ प्रतिशत पक्राउ परेका छन् भने चोरी तथा डाँका सम्बन्धी कसुरमा ९६.३६ प्रतिशत फर्स्यौट गरिएको छ। पेन्डिङमा रहेका जघन्य तथा गम्भीर मुद्दाहरू २० प्रतिशत फर्स्यौट गर्ने लक्ष्य राखिएकोमा २४.०४ प्रतिशत फर्स्यौट भएका छन्। साथै फैसला कार्यान्वयनतर्फ २० प्रतिशतको लक्ष्य राखिएकोमा ३९.३० प्रतिशत अर्थात् २,२४२ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

​चालु आर्थिक वर्ष २०८३/०८४ का लागि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, रसुवा बाहेकका ९ वटा जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बागमती प्रदेश प्रहरी गण हेटौंडा, बागमती प्रदेश प्रहरी अस्पताल, बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा गरी १५ वटा कार्यालयहरूसँग सम्झौता गरिएको छ। सम्झौता अनुसार तालिम केन्द्रलाई २१, जिल्ला प्रहरी कार्यालयहरूलाई ५२, ट्राफिकलाई २०, गणलाई १७, प्रहरी अस्पताललाई १८, प्रहरी विद्यालयलाई १७ र विपद् व्यवस्थापन गुल्मलाई १२ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरू निर्धारण गरिएका छन्।

​कार्यक्रममा मातहतका प्रहरी प्रमुखहरूले वार्षिक कार्यसम्पादन सम्झौताका विषयमा आ-आफ्नो प्रस्तुति राखेका थिए। कार्यक्रमको समापन गर्दै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले आज हस्तान्तरण गरिएको कार्यसम्पादन सम्झौतालाई अक्षरांश पालना गर्दै प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। साथै, आसन्न चाडपर्वहरूलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाइ प्रहरी परिचालन गर्न र विपद् पूर्वतयारी, खोज तथा उद्धार कार्यमा उच्च तदारुकताका साथ खटिनसमेत मातहतका निकायलाई कडा निर्देशन दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.