हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा समाजमा बढ्दै गएको महिला हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै बढ्दो महिला हिंसा, साइबर अपराध तथा त्यसले पुर्‍याउने शारीरिक र मानसिक असरलाई सम्बोधन गर्न यो जनचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रम गर्न लागिएको हो।

​कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेट्ने गरी व्यापक सहभागिता गराइने भएको छ। हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार विभिन्न संघ-संस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलाहरूलाई लक्षित गरी प्रशिक्षण दिइनेछ। सहभागीहरूलाई शारीरिक र मानसिक रूपमा सुरक्षित भई साइबर अपराध र हिंसाविरुद्ध कसरी खडा हुने भन्ने विषयमा व्यावहारिक ज्ञान दिइनेछ।

​प्रशिक्षणमा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम रहेको छ। साइबर अपराध, शारीरिक एवं मानसिक सुरक्षा तथा जीवन जिउने कलाका बारेमा अन्तर्राष्ट्रिय प्रशिक्षक सिमोन न्यौपानेले उत्प्रेरणात्मक प्रशिक्षण दिनुहुनेछ। त्यसैगरी, महिला हिंसा, महिला अधिकार र विद्यमान कानूनी व्यवस्थाहरूका विषयमा अधिवक्ता शान्तिकुमारी सिंहले कानूनी पाटोबाट प्रशिक्षण प्रदान गर्नुहुनेछ।

​हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा हुने यस कार्यक्रमको व्यवस्थापन टोल विकास नगर समन्वय समितिले गर्ने भएको छ। समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीका अनुसार सहभागीहरूका लागि पासको व्यवस्था गरिएको छ र स्थान सीमित भएकाले इच्छुकलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरिएको छ। यो प्रशिक्षण कार्यक्रम यही असोज १७ र १८ गते हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.