हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढ्नुका साथै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा शिक्षा क्षेत्रका प्रतिनिधि, पत्रकार तथा स्थानीय निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भुटनदेवी स्कुल केवल पुरानो मात्र नभई ठूलो इतिहास बोकेको संस्था भएको बताउनुभयो। देशको समग्र व्यवस्था परिवर्तनमा यस विद्यालयका शिक्षकहरूको अतुलनीय योगदान रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “हामी आज जुन व्यवस्थामा छौँ, त्यसमा यहाँका शिक्षकहरूको ठूलो योगदान छ, जसमा शिक्षक र विद्यार्थीहरूले गर्व गर्नुपर्छ।”
भेलामा बोल्दै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं हेटौंडा-१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले विद्यालय विकासमा अभिभावकको भूमिका अतुलनीय हुने बताउनुभयो। “विद्यार्थीहरू आउँछन्-जान्छन्, तर विद्यालय बनाउने मुख्य दायित्व तपाईं-हामी अभिभावकको हो,” उहाँले भन्नुभयो। हेटौंडा लागुपदार्थको ट्रान्जिट पोइन्ट बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अब स्थानीय पाठ्यक्रममै यसबारे सचेतनामूलक विषय अध्यापन गराउने कि नगराउने भन्नेबारे गम्भीर भएर सोच्ने समय आएको धारणा राख्नुभयो।
सभाका अध्यक्ष नवीन सिग्देलले विद्यालयको वास्तविक गुणस्तर सुधारको परिभाषा दिँदै तीनवटै पक्षको खुसी आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षकको अनुहारमा उज्यालो हुन्छ, विद्यार्थीको अनुहारमा उज्यालो हुन्छ र अभिभावकको अनुहारमा उज्यालो हुन्छ, अनि मात्र विद्यालयको गुणस्तर सुधार भएको मानिन्छ।” विद्यालयलाई केवल भौतिक रूपमा मात्र नभई शैक्षिक र सामाजिक रूपमा पनि उत्कृष्ट बनाउन सबैको सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा भुटनदेवी माविका प्राध्यापक सूर्य प्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, भुटनदेवी माविका पिटिए अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल र भुटनदेवी माविका अनुगमन समिति अध्यक्ष इन्द्र नेपाललगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले विद्यालयको ऐतिहासिक गरिमा जोगाउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ नेतृत्वले प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो।










