मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

हेटौँडा, मकवानपुर ।
विकलाङ्ग मित्र समूह / अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन भइरहेको छ। यसअघि तीन जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियानअन्तर्गत चौथो जिल्लाका रूपमा आज बिहान ९ बजेदेखि मकवानपुरको हेटौँडा अस्पताल परिसरमा शिविर सुरु भई हाल निरन्तर चलिरहेको छ।

​१८ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस घुम्ती शिविरमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार परामर्श प्रदान गरिँदै छ। शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरू टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू खुस्किएको तथा ओठ र तालु फाटेका बालबालिकाहरूको विशेषज्ञ डाक्टरहरूमार्फत जाँच भइरहेको छ।

​शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपाका अर्थोपेडिक सर्जन डाक्टर पवन रावल र नर्स प्राक्टिसनर सुनिरा खड्कासहितको विशेषज्ञ स्वास्थ्यकर्मी टोलीले बिरामी बालबालिकाहरूको प्रत्यक्ष जाँच एवम् परामर्श दिइरहनुभएको छ। जाँचका क्रममा बालबालिकाहरूलाई आवश्यकता अनुसार सहायक सामग्री, कृत्रिम अङ्ग उपलब्ध गराउनुका साथै थप जटिल उपचारका लागि काभ्रेस्थित मूल अस्पतालमा रिफर गर्ने व्यवस्था समेत मिलाइएको छ।

​हेटौँडा अस्पताल, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (बागमती प्रदेश) र अपाङ्ग सरोकार केन्द्र मकवानपुरको समन्वय तथा सहयोगमा सञ्चालित यस कार्यक्रमलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सौजन्य गरेको छ। स्थानिय तह र विशेषज्ञ संस्थाहरूको संयुक्त पहलमा सञ्चालित यस शिविरले ग्रामीण एवम् पहुँचबाहिर रहेका अपाङ्गता भएका बालबालिकाहरू र तिनका अभिभावकहरूलाई ठूलो राहत पुर्‍याएको छ।

​विभिन्न जिल्लाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानअन्तर्गत मकवानपुरमा आज दिनभर शिविर सञ्चालन हुनेछ। मकवानपुरको शिविर सम्पन्न भएपश्चात् भोलि यो कार्यक्रम चितवन जिल्लामा सञ्चालन हुने आयोजक टोलीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.