डुबान नियन्त्रणमा हेटौँडा–४ को फड्को: हुप्र–पशुपति मन्दिर सडकसहित बजार क्षेत्रको मुहार फेरिँदै

वर्षौँदेखि बर्खा लाग्नासाथ हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले भोग्दै आएको डुबान र हिलो-धुलोको सास्ती अब एकादेशको कथा बन्ने मोडमा पुगेको छ। ठूला र महत्वाकाङ्क्षी आश्वासनभन्दा पनि नागरिकका दैनिक समस्या सुल्झाउने तर्फ वडा नेतृत्व केन्द्रित बनेपछि हेटौँडा–४ को मुहार फेरिन थालेको हो। सडक स्तरीकरण, ढलको उचित निकास र कालोपत्रे ओभरल्यापिङ्ग जस्ता पूर्वाधारका जगमा टेकेर वडालाई पूर्ण रूपमा डुबानमुक्त बनाउने अभियानले अहिले तीव्रता पाएको छ।

​बर्खायाममा पानी जमेर जलमग्न हुने हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जोड्ने मुख्य सडक सुधारको कामले गति लिएपछि स्थानीयमा नयाँ उत्साह छाएको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको संयुक्त बजेट साझेदारीमा टेन्डर प्रक्रिया सकिएर निर्माण सुरु भएसँगै वडाको सबैभन्दा जोखिमयुक्त डुबान क्षेत्रले निकास पाउने पक्का भएको छ। यसका साथै, बजारको मुटु मानिने अजरअम्बर रोड र खोपे गल्लीमा समेत कालोपत्रे ओभरल्यापिङ्गको तयारी तीव्र पारिएकाले अबको वर्षात्‌मा स्थानीयले हिलो र पानीको पडा झेल्नुपर्ने छैन।

​विकास भनेको अग्ला संरचना मात्र नभई जनताको दैनिकीमा आउने सहजता हो भन्ने उदाहरण वडाले अघि सारेका योजनाहरूले पुष्टि गर्छन्। यसअघि नै पारिजातपथ, प्रजातान्त्रिकपथको ब्रह्मदिक अगाडि, गर्दोही क्षेत्र, हेटौँडा क्याम्पस जाने बाटो र गरुढपथका भित्री सडकहरूमा डुबान समस्याको स्थायी समाधान भइसकेको छ। चालु आर्थिक वर्ष २०८३/०८४ मा कच्ची सडक सुधार, ढल तथा पेटी निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउँदा स्थानीयवासीले स्थानीय सरकारको उपस्थिति प्रत्यक्ष अनुभूति गर्न पाएका छन्।

​’भाषणभन्दा परिणाम’ लाई मूलमन्त्र बनाएर अघि बढेका वडा अध्यक्ष नवीन सिग्देलको नेतृत्वमा सडक र ढल व्यवस्थापनका साथै ज्येष्ठ नागरिक कक्ष जस्ता सामाजिक पूर्वाधार निर्माणले पनि निरन्तरता पाइरहेका छन्। हुप्र–पशुपति मन्दिर सडकको स्तरोन्नति सम्पन्न भई बाँकी रहेका भित्री सडक र ढलको कामले निरन्तरता पाउने हो भने हेटौँडा–४ मुलुककै एक उदाहरणीय र व्यवस्थित वडा बन्ने निश्चित छ। पूर्वाधारमा आएको यो सकारात्मक बदलावले जनप्रतिनिधिप्रतिको जनविश्वासलाई अझ प्रगाढ बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.