रसुवा र नुवाकोटका बाढीप्रभावितका लागि आपत्कालीन स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

देवीघाट (नुवाकोट) — गत भाद्र १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित स्वास्थ्य संकटलाई सम्बोधन गर्न नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ। बाढीप्रभावित नागरिकलाई तत्काल र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो। विपद्पछिको कठिन परिस्थितिमा प्रभावित समुदायलाई प्रत्यक्ष राहत र स्वास्थ्य सेवा पुर्‍याउन यो कदम चालिएको हो।

​सेवा केन्द्रको शुभारम्भ बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री किरण थापा मगरज्यू, आर्थिक मामिला तथा योजना मन्त्री श्री सरल सहयात्री पौडेलज्यू, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री श्री गिरबहादुर तामाङज्यू, पूर्व मुख्यमन्त्री श्री बहादुरसिंह लामाज्यू लगायतका विशिष्ट व्यक्तित्वहरूको समुपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित हुनुभएका जनप्रतिनिधि तथा प्रदेश सरकारका नेतृत्वकर्ताहरूले प्राकृतिक विपद्को यस घडीमा प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​कार्यक्रमका अवसरमा प्रदेश सरकारले विपद्को कठिन समयमा नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा राहत र उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित समुदायको साथमा दृढतापूर्वक उभिने स्पष्ट पारेको छ। स्वास्थ्य संकटको तत्कालीन व्यवस्थापन मात्र नभई विपद्पछिको पुनःस्थापना, पुनःनिर्माण र नागरिकको दैनिकीलाई सामान्य अवस्थामा फर्काउन आवश्यक समन्वय, सहकार्य र प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धतासमेत सरकारका तर्फबाट व्यक्त गरिएको छ।

​कार्यक्रमको अन्त्यमा बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। सोही क्रममा बेपत्ता नागरिकहरूको शीघ्र खोज तथा उद्धारको कामना गर्दै घाइते एवं बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित दीप प्रज्ज्वलन गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.