हेटौँडा, असोज ४ । मकवानपुर क्रिकेट संघको नवौँ वार्षिक साधारण सभा आइतबार हेटौँडामा सम्पन्न भएको छ। संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। उद्घाटन सत्रमा बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जेसवाल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष राज सिंह तथा दिपेन्द्र ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा उहाँहरूले संघको उत्रोत्तर प्रगति एवम् मकवानपुरमा क्रिकेट खेलको विकास, विस्तार र खेलाडीहरूको प्रवर्द्धनका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभाको अवसरमा मकवानपुरमा क्रिकेट खेलको संस्थागत विकास र राष्ट्रिय स्तरमा जिल्लाको पहिचान उच्च बनाउन योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो। संघका निवर्तमान अध्यक्ष बाशुलाल श्रेष्ठलाई उहाँको सफल कार्यकाल र अभिभावकीय नेतृत्वको कदर गर्दै सम्मान गरिएको थियो भने मकवानपुरबाट राष्ट्रिय क्रिकेट टोलीसम्म पुगेर उत्कृष्ट प्रदर्शन गर्न सफल राष्ट्रिय खेलाडी रिजन ढकाललाई पनि विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा चितवन क्रिकेट संघका कायमुकायम अध्यक्ष उमेश पिया, चितवन क्रिकेट संघका सदस्यहरू प्रशान्त पिया र मदन धले, खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुवास बिडारी, राजु ढकाल, रवि थापा, रामनोश गिरी, अरुण बिडारी तथा कविता देवकोटा, सपना देवकोटा र सुजिता थापालगायत क्रिकेट संघका प्रतिनिधिहरू, सञ्चारकर्मी एवम् सल्लाहकारहरूको उपस्थिति रहेको थियो।
साधारण सभाले जिल्लाभित्र क्रिकेट खेलको संरचनागत सुधार, नियमित प्रतियोगिता आयोजना र नयाँ प्रतिभाहरूको खोज गर्ने विषयमा गहन छलफल गर्दै संघको सांगठनिक सुदृढीकरण र भावी रणनीति तय गरेको छ। सरोकारवाला निकायहरूसँगको समन्वयलाई बलियो बनाउँदै मकवानपुरलाई क्रिकेटको समृद्ध हबका रूपमा विकसित गर्ने अठोटका साथ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।










