हेटौँडामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने, तयारी तीव्र

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा ‘नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थानीय स्तरमा प्रतिभाशाली खेलाडीको पहिचान, प्रोत्साहन तथा युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

​नगरस्तरीय क्रिकेट प्रतियोगिताको व्यवस्थापन नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समिति हेटौँडा–४ ले गर्नेछ भने मकवानपुर क्रिकेट संघले प्राविधिक सहयोग पुर्‍याउनेछ। वडागत आधारमा सञ्चालन हुने यस क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरू सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको उद्घाटन असोज १० गते बिहान ७:३० बजे लोकतान्त्रिक हुप्रचौरमा हुनेछ। क्रिकेटतर्फ सहभागी हुन चाहने टोलीका लागि असोज ७ गते बेलुका ४:०० बजेसम्म टिम दर्ताको समय तोकिएको छ।

​क्रिकेट प्रतियोगिताका विजेताले नगद रु. ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ३० हजार पाउनेछन्। यसैगरी म्यान अफ द सिरिजलाई रु. ५ हजार, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र नवप्रतिभा खेलाडीलाई जनही रु. २ हजार ५ सयका साथै प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु. १ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

​त्यसैगरी नगरस्तरीय तेक्वान्दो प्रतियोगिता (जुनियर आमन्त्रण) को व्यवस्थापन तथा प्राविधिक सहयोग मकवानपुर तेक्वान्दो डोजाङले गर्नेछ। १४ वटा डोजाङका करिब १६० जना खेलाडीहरूले सहभागिता जनाउने उक्त तेक्वान्दो प्रतियोगिताको उद्घाटन असोज ३ गते बिहान ११:०० बजे हुनेछ। महिला तथा पुरुषतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद रु. ३ हजार पुरस्कार दिइनेछ।

​स्थानीय स्तरबाट उत्कृष्ट खेलाडी उत्पादन गरी जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउने दीर्घकालीन लक्ष्य राखिएको प्रतियोगिताबारे जानकारी दिन भदौ ३१ गते दिउँसो २:०० बजे ४ नं. वडा कार्यालय हेटाैँडामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। वडा अध्यक्ष नवीन सिग्देलले खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्रिय नागरिक निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सहयोगको अपिल गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.