काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको यात्रुवाहक विद्युतीय गाडी (EV) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा गुडिरहेको म.प्र.०३-००१ ज ०७२० नम्बरको उक्त भाडाको EV गाडी आज मिति २०८३ भाद्र ३० गते दिउँसो करिब २:०० बजे अनियन्त्रित भई सडकबाट करिब १,००० मिटर तल खसेको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भिमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक, तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको संयुक्त टोली खटिएको थियो। साथै, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले समेत घटनास्थलमा पुगेर तत्काल तीव्र रूपमा उद्धार कार्य अघि बढाएका थिए।
चालकसहित कुल ८ जना सवार रहेको उक्त गाडीमा दुर्घटना लगत्तै उद्धार गरिएका ४ जना घाइतेहरूमध्ये २ पुरुष र १ महिला गरी ३ जनालाई थप उपचारका लागि काठमाडौसतर्फ पठाइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ। घटनास्थलमै ज्यान गुमाएका चारै जना पुरुष रहेको पुष्टि भएको छ। दुर्घटनाको मुख्य कारण र घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।










