हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको सांगठनिक नेतृत्व चयनका लागि १०औँ ऐतिहासिक जिल्ला अधिवेशन भोलि भदौ ३१ गते हेटौँडा–४ स्थित ड्रागन ब्याङ्केटमा आयोजना हुँदैछ। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख प्रवक्ता ज्ञानबहादुर शाहीसहित केन्द्रीय तथा बागमती प्रदेशस्तरीय शीर्ष नेताहरूको उपस्थितिमा हुन लागेको यस अधिवेशनले जिल्लाको नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ। भोलि बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रममा बागमती प्रदेश संसदीय दलका पदाधिकारी, सदस्यहरू तथा स्थानीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहनेछ।
बागमती प्रदेश संसदीय राजनीति र स्थानीय सङ्गठनमा राम्रो पकड मानिएको मकवानपुर राप्रपाको यो अधिवेशन यसपटक केवल औपचारिक समारोहमा मात्र सीमित नरही तीव्र सांगठनिक प्रतिस्पर्धाको मोडमा पुगेको छ। अधिवेशनको पूर्वसन्ध्यामै जिल्ला नेतृत्वका लागि दुई जना अनुभवी नेताहरूले आ-आफ्नो दाबी प्रस्तुत गरेपछि चुनावी माहौल एकाएक तातिएको हो। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै आगामी निर्वाचनका लागि सशक्त टोली निर्माण गर्नु यस अधिवेशनको मुख्य ध्येय मानिएको छ।
जिल्ला अध्यक्ष पदका लागि पूर्व क्षेत्रीय अध्यक्ष एवम् २०५४ का निर्वाचित वडाध्यक्ष ऋषिलाल श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। २०४७ सालदेखि निरन्तर पार्टीमा क्रियाशील श्रेष्ठको उम्मेदवारीसँगै अर्का पुराना एवम् निष्ठावान नेता शुक्रबहादुर प्रजाले पनि अध्यक्ष पदमा आफ्नो दाबी सार्वजनिक गर्नुभएको छ। पुराना र जनस्तरमा भिजेका यी दुवै नेताहरूको उम्मेदवारीले भोलि हुने अधिवेशनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।
हेटौँडा–४ स्थित ड्रागन ब्याङ्केटमा हुने यस अधिबेशनले नयाँ नेतृत्व चयन मात्र गर्ने छैन, राप्रपाको आगामी बागमती प्रदेशस्तरीय रणनीति तय गर्नसमेत मुख्य भूमिका खेल्ने देखिन्छ। शीर्ष नेताहरूको उपस्थिति र दुई सबल दाबेदारको मैदान प्रवेशले गर्दा भोलि हेटौँडाको राजनीतिक ध्यान पूर्ण रूपमा राप्रपाको अधिवेशनतिर मोडिने निश्चित छ।










