मकवानपुर — हेटौंडामा सम्पन्न १२ औँ अधिवेशनमार्फत निर्माण व्यवसायी संघ मकवानपुरले आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ। यसअघि नै बालगोपाल कँडेल अध्यक्षमा निर्विरोध चयन भइसकेको अवस्थामा बाँकी महत्त्वपूर्ण पदाधिकारी तथा सदस्य पदका लागि आइतबार कडा प्रतिस्पर्धात्मक निर्वाचन सम्पन्न भएको हो। निर्वाचन संयोजक ईश्वर राज ढकालका अनुसार संघमा आबद्ध कुल ४४५ मतदातामध्ये ३९० जना (८७.६ प्रतिशत) व्यवसायीहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएका थिए।
मतगणनाको अन्तिम परिणाम अनुसार संघको कार्यकारी टोलीमा व्यवसायिक एजेण्डा र युवा ऊर्जाको सम्मिश्रण देखिएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद चौलागाईं १९९ मत ल्याएर विजयी हुनुभएको छ भने प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः भवनाथ अधिकारी (२६३ मत) र भीमसेन श्रेष्ठ (१७३ मत) निर्वाचित हुनुभएको छ। संघको दैनिक प्रशासनिक र नीतिगत नेतृत्व सम्हाल्ने महासचिवमा २१५ मतका साथ सुरज बतौला र उप–महासचिव (नीतिगत) मा २२५ मत प्राप्त गर्दै नवराज पाठक चुनिनुभएको छ। सूर्य बहादुर रोक्का उप-महासचिव (आन्तरिक) पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, आर्थिक व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष प्रकाश लामा (२३१ मत) र सह–कोषाध्यक्ष आकाशकुमार गोले (२५० मत) ले पाउनुभएको छ।
अधिवेशनले संघको सञ्चालक समिति सदस्यका रूपमा ९ जना व्यवसायीहरूलाई अनुमोदन गरेको छ। पम्फा बर्तौला महिला सदस्य पदमा निर्विरोध हुनुभएकोमा र बाकी सदस्य पदमा सर्वाधिक २३५ मत ल्याएर रोशन ठकुरी निर्वाचित हुनुभएको छ भने निरञ्जन पौडेल ‘निराजन’ (२१४ मत), सहस गोपाली (२०८ मत), दावा लामा (१९५ मत), विवेक उप्रेती (१९३ मत), ऐशन पौडेल (१८१ मत), नितेश थापा मगर (१८० मत) र बालकृष्ण केसी (१६६ मत) विजयी हुनुभएको छ। नयाँ टोलीको आगमनसँगै जिल्लामा निर्माण क्षेत्रले व्यहोर्दै आएका तत्कालीन समस्या समाधान र व्यावसायिक हकहित संरक्षणका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने अपेक्षा गरिएको छ।










