भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीका कारण सडक सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोट जिल्लाका लागि भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएको बेलिब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। डिभिजन सडक कार्यालय हेटौँडामा आयोजित एक विशेष कार्यक्रमका बीच ७०-७० मिटरका ३ वटा बेलिब्रिज हस्तान्तरण गरिएको हो। भारतको रक्षा मन्त्रालय अन्तर्गतको ‘गार्डन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड’ (GRSE) ले निर्माण गरेका यी पुलहरूले बाढीबाट प्रभावित क्षेत्रमा पुनः यातायात तथा सडक सञ्जाल जोड्न ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा माननीय सङ्घीय सांसद प्रकाश गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नेपाल प्रहरीका डिएसपी माधव काफ्ले, सशस्त्र प्रहरी बलका डिएसपी प्रकाश पौडेल तथा हेभी इक्विपमेन्टका डिभिजन प्रमुख रामबाबु सिंह लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
नेपाल-भारत सहकार्य अन्तर्गत प्राप्त यी बेलिब्रिजहरूले प्राकृतिक विपत्तिका कारण अवरुद्ध बनेका रसुवा र नुवाकोटका विकट क्षेत्रहरूमा आवागमन सहज बनाउनुका साथै स्थानीय जनजीवन र व्यापार व्यवसायलाई पुनः पुरानै लयमा फर्काउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। बाढीका कारण सडक र पुल भत्किएर सास्ती भोगिरहेका स्थानीयवासीका लागि यो सहयोग अत्यन्तै राहतपूर्ण हुने अपेक्षा गरिएको छ।










