हेटौँडा। हेटौँडा अस्पतालमा सुत्केरी गराउन पुगेकी मकवानपुरगढी-२ की ३३ वर्षीया गङ्गा पुलामी मगरको आर्थिक अभाव सम्बन्धी समाचार सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ। सुरुआती टिकट काट्ने ८० रुपैयाँसम्म नभएर अस्पतालमै तीन दिनसम्म कठिन अवस्थामा बिताउन बाध्य गंगाको विषयमा जानकारी पाएपछि हेटौँडा-११ का युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व तीर्थ रोक्काले अस्पतालमै पुगेर रु १० हजार नगद सहयोग गर्नुभएको छ।
दैनिक ज्याला मजदुरी गरेर पाँच सन्तान हुर्काउँदै आएकी गङ्गाको आर्थिक अवस्था निकै दयनीय रहेको र सुत्केरी भएपछिको परिवार पालनपोषण तथा उपचारमा ठूलो चुनौती देखिएको थियो। शनिबार अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएकी उनको समाचार सञ्चारमाध्यममा आएलगत्तै समाजसेवी रोक्काले मानवीय संवेदनालाई ध्यानमा राख्दै प्रत्यक्ष भेटेर सहयोग हस्तान्तरण गर्नुभएको हो।
गङ्गाको उपचारका लागि यसअघि हेटौँडा-२ स्थित निको अस्पतालका सञ्चालक सुधिर दाहालले पनि ५ हजार रुपैयाँ सहयोग गरिसक्नुभएको छ। सञ्चारमाध्यममा समाचार प्रकाशित भएसँगै स्वतःस्फूर्त रूपमा सहयोगी हातहरू अगाडि बढ्न थालेपछि पीडित परिवारलाई राहत मिलेको छ।










