स्थानीय स्तरमा छरिएर रहेका टोल विकास संस्थाहरूलाई एउटै सूत्रमा बाँध्दै वडाको विकास र सामाजिक रूपान्तरणलाई एकीकृत रूपमा अघि बढाउने रणनीति हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ ले अघि सारेको छ। वडाभित्रका १६ वटै टोल विकास संस्थाहरूको छाता संरचनाका रूपमा बुधबार ‘टोल विकास संस्था वडा समन्वय समिति’ सर्वसम्मत चयन गरिएको हो। लीलाधर दाहालको संयोजकत्वमा गठित ९ सदस्यीय यस समितिमा उपाध्यक्ष मोनिका विक, सचिव सरस्वती दुलाल, कोषाध्यक्ष राधा कार्की र सहसचिव पार्वती थापा रहेका छन्। यो संरचनाले नागरिक र स्थानीय सरकारबीचको दूरी घटाउँदै समावेशी र संगठित नेतृत्वको जग बसालेको छ।
स्थानीय तह र समुदायबीच मजबुत पुलको काम गर्ने विश्वास लिइएको यस नवगठित समितिलाई वडाको समग्र विकास, सरसफाइ, विपद् व्यवस्थापन र सामाजिक एकता कायम गर्ने मुख्य जिम्मेवारी तोकिएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष रामकृष्ण कोइरालाले नागरिकका समस्या पहिचान र समाधानमा टोल संस्थाहरूको भूमिका निर्णायक हुने बताउनुभयो। यस्तै नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले “टोल बलियो भए मात्र नगर बलियो हुन्छ” भन्ने अवधारणालाई आत्मसात् गर्दै सबै टोलहरूलाई एउटै छातामुनि संगठित गरी परिचालन गर्न यो समिति कोसेढुङ्गा साबित हुने धारणा व्यक्त गर्नुभयो।
भौतिक विकास निर्माणमा मात्र सीमित नरहेर वातावरण संरक्षण, सामाजिक जागरण र विपद् व्यवस्थापन जस्ता संवेदनशील विषयमा नागरिक सहभागिता बढाउनु यस समितिको प्राथमिक उद्देश्य रहेको छ। नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, उपमहासचिव देवकुमार श्रेष्ठ र सचिव चन्द्रवती पनेरुलगायतको उपस्थितिमा सम्पन्न उक्त भेलाले वडाका साझा समस्याहरूमा सामूहिक पहलकदमी लिने प्रतिबद्धता जनाएको छ। एकीकृत संयन्त्र बनेसँगै अब हेटौंडा-१६ मा सञ्चालित विकास निर्माण र सामाजिक गतिविधिहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।










