हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएका सडक तथा यातायातका संरचनाहरूलाई तत्काल सुचारु गर्न बागमती प्रदेश सरकारले द्रुत गतिमा काम अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौँमा बसेको सर्वदलीय बैठकले बाढी प्रभावित भेगमा आवतजावत सहज बनाउन आवश्यकता अनुसार तत्काल बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माण प्रक्रिया अगाडि बढाउने सर्वसम्मत निर्णय गरेको हो।
बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत अत्यधिक प्रभावित जिल्लाहरूमा अवरुद्ध बनेका मुख्य सडक तथा पैदल मार्गहरूलाई अविलम्ब सञ्चालनमा ल्याउन प्रदेश सरकारलाई निर्देशन दिएको छ। सडक सञ्जाल बिच्छेद हुँदा राहत र उद्धारमा बाधा पुग्ने भएकाले थप सम्भाव्यता अध्ययन गर्दै वैकल्पिक पूर्वाधार खडा गरेर भए पनि आवतजावतलाई निरन्तरता दिइने निर्णय बैठकले गरेको छ।
पूर्व मुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामाका साथै मन्त्रीहरू भरत बहादुर केसी, राजु विष्ट र विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको उक्त बैठकमा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया भने ह्वाट्सएपमार्फत जोडिनुभएको थियो। बैठकले केवल आपत्कालीन उद्धार र अस्थायी बसोबासको व्यवस्थापनमा मात्र सीमित नरही बाढी प्रभावित क्षेत्रको दिगो विकास र पुनर्निर्माणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएको छ।
बाढीपीडित नागरिकहरूलाई आवश्यक राहत सामग्री र आवासको प्रबन्ध बिनाकुनै अवरोध निरन्तर उपलब्ध गराउन सरकारलाई सुझाव दिँदै बैठकले भौतिक पूर्वाधार पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ। सर्वदलीय सहमति जुटेसँगै अब प्रदेश सरकारले प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार पुनर्निर्माण र राहत वितरण कार्यलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।










