हेटौँडा, साउन २४ ।
मकवानपुरको प्रमुख पर्यटकीय स्थल सहिद स्मारकमा करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ‘जातीय सङ्ग्रहालय’को औपचारिक उद्घाटन गरिएको छ । ३२ औँ विश्व आदिवासी दिवसको विशेष अवसर पारेर बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले एक भव्य समारोहका बीच उक्त सङ्ग्रहालयको समुद्घाट्न गर्नुभएको हो । मकवानपुरमा रहेका विभिन्न जातजातिको पहिचान, संस्कृति र रहनसहनलाई जीवन्त राख्ने उद्देश्यका साथ यो सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ मकवानपुरका जिल्ला अध्यक्ष जङ्गबहादुर गुरुङको सभाध्यक्षतामा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रममा जिल्लाका विभिन्न जातजातिहरू आफ्नो परम्परागत भेषभुषा, मौलिक झाँकी र बाजागाजासहित उपस्थित भएका थिए । पहिचान र संस्कृतिको संरक्षणमा इँटा थप्ने यस समारोहमा प्रदेशका पूर्वमन्त्री एवं पूर्व सांसद जुनेली श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पूर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामा लगायतका जनप्रतिनिधि एवं राजनीतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लामा हालसम्म २६ वटा जातजातिहरूको पहिचान भइसकेको पृष्ठभूमिमा यो सङ्ग्रहालय ती सबैको साझा चौतारी बन्ने विश्वास लिइएको छ। नवउद्घाटित सङ्ग्रहालयमा पहिलो चरण अन्तर्गत जिल्लामा बसोबास गर्ने ब्राह्मण, तामाङ, चेपाङ, बनकरिया, भुजेल, शेर्पा, दनुवार, सुनुवार, लिम्बू, किरात राई यायोख्खा, माझी, थारु, नेवार र मगर गरी १४ वटा जातजातिका मौलिक भेषभुषासहितका पूर्णकदका स्ट्याचु (मूर्ति) हरू प्रदर्शनमा राखिएका छन्। बाँकी रहेका अन्य जातजातिहरूको पहिचान झल्किने कला र संस्कृतिलाई पनि क्रमिक रूपमा समेट्दै लैजाने तयारी भइरहेको आयोजकले जनाएका छन्।
सङ्ग्रहालयको उद्घाटन गर्दै प्रमुख अतिथि डोरमणी पौडेलले यो संरचना केवल पर्यटकीय केन्द्र मात्र नभएर जनजातिको पहिचान निर्माणको बलियो खम्बा भएको बताउनुभयो । करिब ३ करोडको लगानीमा तयार भएको यस गौरवको आयोजनाले कुनै पनि प्रकारको जातीय विद्वेषलाई प्रश्रय नदिने प्रष्ट पार्दै उहाँले यो सङ्ग्रहालय तिनै जातजाति बीचको पारस्परिक सद्भाव, सहिष्णुता र एकताको प्रतीकका रूपमा उभिएको धारणा राख्नुभयो ।
मन्तव्यकै क्रममा पूर्व मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार निर्माणको काम राज्य र नेतृत्वले गरे पनि यसको वास्तविक संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारी समुदायकै काँधमा आउने उल्लेख गर्नुभयो । “हामीले संरचना त बनायौँ, तर अब सबै जातजातिले यसलाई मेरो आफ्नै हो भन्ने अपनत्व लिनुपर्छ,” उहाँले भन्नुभयो, “सङ्ग्रहालयलाई थप विकास, विस्तार र जीवन्त राख्नका लागि सबै पक्षले आ-आफ्नो तर्फबाट रचनात्मक भूमिका खेल्न आवश्यक छ ।”








