नेपाली चलचित्र उद्योगमा जब-जब सामाजिक विषयवस्तु र पारिवारिक संवेदना पस्किएका कथा आउँछन्, दर्शकले त्यसलाई कहिल्यै निराश बनाउँदैनन् भन्ने प्रमाण बनेको छ— चलचित्र ‘गौंथली’। प्रदर्शनको नवौँ दिनसम्म आइपुग्दा यस चलचित्रले ७ करोड रूपैयाँ भन्दा बढी को gross कलेक्सन गर्दै अढाई लाखभन्दा बढी दर्शकलाई सिनेमा हलसम्म तान्न सफल भएको छ। महँगा स्टारकास्ट र तामझामपूर्ण प्रचारप्रसार बिना नै प्रदर्शनमा आएको यो चलचित्रले केवल दर्शकको ‘माउथ-अफ-वर्ड’ (सकारात्मक मौखिक समीक्षा) को भरमा बक्स अफिसमा अप्रत्याशित र लोभलाग्दो सफलता हासिल गरिरहेको छ।
डा. कपिल रिजालको निर्देशन र वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा बनेको यो चलचित्रले नेपाली समाजको मर्मस्पर्शी पक्षलाई उठान गरेको छ। बालविवाह, शिक्षाको पहुँचबाट वञ्चित ग्रामीण कथा, र आधुनिक समाजको मानसिक स्वास्थ्य जस्ता संवेदनशील मुद्दालाई एउटै धागोमा बुनेको ‘गौंथली’ ले दर्शकको मन मात्र छोएको छैन, हलबाट निस्कँदै गर्दा सोच्न पनि बाध्य बनाएको छ। अरुण क्षेत्री र सिम्रन खड्काको जीवन्त अभिनयसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे जस्ता दिग्गज कलाकारको सशक्त उपस्थितिले कथालाई थप उँचाइ दिएको छ।
पहिलो साता करिब २०० शोबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको यस चलचित्रले दोस्रो सातामा प्रवेश गर्दा शो सङ्ख्या घटाउनुको साटो उल्टै बढाएर २५० भन्दा बढी पुर्याएको छ, जुन आफैँमा दुर्लभ सफलता हो। देशका मुख्य मल्टिप्लेक्सहरूमा मात्र नभई अमेरिकाका प्रमुख सहरहरूमा समेत यो चलचित्रले दर्शकको राम्रो उपस्थिति पाइरहेको छ। केवल मनोरञ्जन मात्र नभई सामाजिक सन्देश बोकेका अर्गानिक सिनेमाहरू पनि व्यावसायिक रूपमा सफल हुन सक्छन् भन्ने गतिलो उदाहरण ‘गौंथली’ बनेको छ।








