सडक बालबालिकाको सहारा बन्दै ‘लिटल स्टार्स’: हेटौँडामा च्यारिटि शो सम्पन्न

हेटौँडा । सहरी क्षेत्रमा बढ्दै गएको सडक बालबालिकाको समस्या र तिनको व्यवस्थापनको सवाललाई चलचित्रको माध्यमबाट उजागर गर्दै हेटौँडामा ‘लिटल स्टार्स’ चलचित्रको परोपकारी (च्यारिटि) शो सम्पन्न भएको छ। रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजना तथा एजे. टिम हेटौँडा प्रा.लि. को निर्माणमा बनेको उक्त चलचित्र ओम्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको हो। चलचित्रको प्रदर्शनबाट सङ्कलित रकम हेटौँडा–११ मा सडक बालबालिकाको पुनर्स्थापनामा क्रियाशील संस्था ‘मामाघर नेपाल’लाई हस्तान्तरण गरिने रेडियोका प्रबन्ध निर्देशक अनिल कुमार खातिले जानकारी दिनुभयो।

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सडक बालबालिकामुक्त नगर बनाउने अभियानमा यस्ता सामाजिक सन्देशमूलक चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरप्रमुख लामाले चलचित्रले उठाएको संवेदनशील विषयवस्तुको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारको तर्फबाट चलचित्र टोली र सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवाली र मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले हेटौँडालाई सडक बालबालिकारहित बनाउन थप सक्रिय भएर लाग्ने प्रण गर्नुभयो।

​नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले समाजको यथार्थ ऐना प्रस्तुत गरेको भन्दै चलचित्रको दोस्रो भाग (सिक्वेल) को आवश्यकता औँल्याउनुभएको उक्त शोमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायत नागरिक समाज, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। विगतदेखि नै सञ्चार माध्यमसँगै सामाजिक दायित्व वहन गर्दै आएको रेडियो बुलेटिनले सडकमा कुनै पनि बालबालिकाले बित्थामा सुत्न नपरोस् भन्ने उद्देश्यले यो अभियान चलाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.