हेटौँडा । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै किशोरकिशोरीमाथि निम्तिन सक्ने अनलाइन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जेसीआई हेटौँडाले साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण सम्पन्न गरेको छ । बिहीवार हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ९० जना विद्यार्थीहरूलाई इन्टरनेटको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी गराइएको हो । जारी ‘जेसीज सप्ताह २०२६’ अन्तर्गतको तेस्रो कार्यक्रमका रूपमा उक्त अभिमुखीकरण सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका श्याम श्रेष्ठ, आईटी इन्जिनियर तथा क्यान महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष श्रीराज खतिवडा र क्यान महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवं जेसीआई हेटौँडा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार शिवकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर अपराधका कानुनी पक्ष र डिजिटल सुरक्षाका व्यावहारिक उपायहरूबारे विद्यार्थीहरूलाई प्रस्ट पारेका थिए ।
जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौँडा–११ की वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जेसीआई हेटौँडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानियाँ र विद्यालयका प्रधानाध्यापक राम कुमार बर्तौला दाहाल विशेष अतिथिका रूपमा सहभागी रहेको उक्त कार्यक्रमको संयोजन विवेक फुयालले गरेका थिए । सप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउन मूल संयोजक संजय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्लेको नेतृत्वमा विभिन्न रचनात्मक गतिविधिहरू भइरहेका छन् ।



















