हेटौँडा, कात्तिक ११ गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ मंगलबारदेखि सुरु भएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा आयोजित एक विशेष उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो। हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका संयोजक प्रितम रानाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले प्रतियोगितामा प्रतिस्पर्धा गर्न देशैभरिबाट उपस्थित भएका सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै खेललाई स्वस्थ र सौहार्दपूर्ण बनाउन आग्रह गर्नुभयो। स्नुकर खेलको पृष्ठभूमि र विकासक्रमबारे चर्चा गर्दै वडा अध्यक्ष मोक्तानले यो खेलले भोलिका दिनमा स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। साथै, समाजमा स्नुकर खेलप्रति रहेको गलत भाष्यलाई खण्डन गर्दै उहाँले भन्नुभयो, “समाजमा स्नुकर खेल्ने ठाउँमा झैझगडा हुन्छ र गलत मान्छेहरू मात्रै जम्मा हुन्छन् भन्ने जुन भ्रम छ, त्यो गलत हो; यस खेलमा उच्च अनुशासन, धैर्यता र एकाग्रताको आवश्यकता पर्ने हुनाले यसलाई सकारात्मक रूपमा प्रवर्धन गर्नुपर्छ।”
कार्यक्रमका प्रमुख अतिथि एवम् उपप्रमुख राजेश बानियाँले रिबन काटेर तथा स्नुकर बल प्रहार गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै उपप्रमुख बानियाँले स्नुकर खेललाई धनी वर्गले मात्र खेल्ने र अरूले खेल्ने होइन भन्ने पुरानो मानसिकता फेरिँदै गएको बताउनुभयो। उहाँले अहिले देशका विभिन्न वडाहरूमा यो खेल युवामाझ लोकप्रिय बन्दै जानु निकै सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो। देशका विभिन्न ठाउँबाट हेटौँडामा खेलका लागि आएका खेलाडीहरूलाई स्वागत गर्दै उहाँले कसले कसलाई चिन्यो भन्नेभन्दा पनि खेलाडी र खेलले देशलाई कति चिनाउन सक्छ भन्ने कुरा मुख्य भएकोमा जोड दिनुभयो।
उपप्रमुख बानियाँले हेटौँडा उपमहानगरपालिकाको आगामी विशेष अधिवेशनमा स्नुकर खेलाडी र शुभचिन्तकहरूसँग छलफल गरी राष्ट्रिय स्तरको स्नुकर च्याम्पियनसिप सञ्चालनका लागि नीतिगत रूपमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय तहबाटै खेलकुद र खेलाडीको क्षमता विकासमा सधैँ सहकार्य गर्ने उपमेयर बानियाँको घोषणाले उपस्थित खेलप्रेमी र खेलाडीहरूमा थप उत्साह थपेको छ।
उद्घाटन समारोहमा हेटौँडा-१५ का वडा सदस्य सिंह बहादुर लो, कार्यक्रमका निर्णायक (जजहरू) टिकालाल श्रेष्ठ र विश्व कार्कीलगायत स्थानीय बासिन्दा, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। औपचारिक उद्घाटन पश्चात् प्रतियोगिता अन्तर्गत आज पोखराका परिवेश रेग्मी र धनगढीका रोहित क्षेत्री तथा पाल्पाका कुडुल श्रेष्ठ र काठमाडौँका विनोद श्रेष्ठबीच पहिलो चरणका रोमाञ्चक खेलहरू सुरु भएको आयोजकले जनाएको छ।



















