हेटौँडा, २७ असोज (२०८३):
“विपद जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस २०२६” को अवसरमा हेटौँडामा “बागमती प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण सम्बन्धी सरोकारवालाबीच समन्वयात्मक अन्तरसंवाद कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। गैर सरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुर र इन्सेक बागमती प्रदेश कार्यालयको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष कमल कुमार बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न निकायका प्रमुख, विशेषज्ञ तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विपद व्यवस्थापनमा पूर्वतयारीको महत्त्वमाथि विशेष जोड दिनुभयो। उहाँले विपदपछिको बचाउ र राहतमा कुल बजेटको ७ प्रतिशत खर्च हुने गरेको तर पूर्वतयारीमा १ रुपैयाँ मात्र खर्च गर्दा ७ रुपैयाँ बराबरको क्षति जोगिने तथ्य प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “आजभोलि आधुनिक प्रविधिका कारण पूर्वसूचना प्राप्त भए पनि जनमानसमा चेतनाको कमी, लापरवाही र सरकारी सूचनालाई बेवास्ता गर्ने प्रवृत्तिले जोखिम बढाएको छ।” संविधानले नै विपद जोखिम न्यूनीकरणको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको स्मरण गराउँदै उहाँले सबै सरोकारवाला निकायबीच ‘समन्वय, समन्वय र समन्वय’ को खाँचो रहेको औँल्याउनुभयो।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मकवानपुर जिल्ला बागमती प्रदेशको राजधानीसँग जोडिएकाले यहाँका विभिन्न शाखा सडकहरूलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो। उहाँले संकट बाजा बजाएर नआउने भएकाले समयमै पूर्वअनुमान र जोखिम न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने बताउनुभयो। नेपाली समाजमा समस्या नपरी चेत नखुल्ने बानी रहेको टिप्पणी गर्दै उहाँले प्रविधिको विकाससँगै पूर्वअनुमानहरू मिल्दै गएकाले पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्राध्यापक, वन विज्ञ तथा नागरिक अभियानता कृष्ण दाहाल र इन्द्रसरोबर गाउँपालिकाका योजना अधिकृत एवं विपद फोकल पर्सन सुरेश न्यौपानेले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीबारे आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। न्यौपानेले इन्द्रसरोबर गाउँपालिकामा सञ्चालित विपद जोखिम न्यूनीकरण, पूर्वतयारी तथा व्यवस्थापन सम्बन्धी विविध क्रियाकलाप र योजनाहरूबारे प्रकाश पार्नुभएको थियो।
उक्त अन्तरसंवाद कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव बुद्धसरण लामा, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि जयश्वोर चापागाईं, र गैसस महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष आरती पाठक लगायतले विपद व्यवस्थापन, मानव अधिकारको संरक्षण र नागरिक समाजको भूमिकासम्बन्धी आ-आफ्नो धारणा र मन्तव्य व्यक्त गर्नुभएको थियो।



















