हेटौँडा, असोज २७ गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा स्व. सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार भव्य रूपमा सम्पन्न भएको छ। हटियास्थित कभर्डहलमा सम्पन्न सो प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यले खेल क्षेत्रको प्रवर्धन भइरहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटन गराउँदै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रमका सभाध्यक्ष एवम् हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा आयोजित यस्ता खेलकुदले समाजमा सकारात्मक ऊर्जा र भाइचारा अभिवृद्धि गर्ने बताउनुभयो। प्रतियोगिताको खुल्ला विधातर्फ हेटौँडा-५ का बिरु गुरुङ र नरेन्द्र मोक्तानको जोडी प्रथम बन्न सफल भयो भने हेटौँडा-२ का रेबती कार्की र इन्द्र कार्कीको जोडी उपविजेता बन्यो। त्यसैगरी, भेट्रान्स विधातर्फ पनि हेटौँडा-५ कै नरेन्द्र मोक्तान र राजकुमार राईको जोडी प्रथम भयो भने हेटौँडा-६ का बिनोद राई र भिम तिमल्सिनाको जोडी दोस्रो स्थानमा रह्यो।
हेटौँडाका १९ वटा वडाबाट खुल्ला र भेट्रान्स गरी कुल २४ वटा उत्कृष्ट टोलीहरूको सहभागिता रहेको यो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बनेको थियो। समापन समारोहमा विशेष अतिथिका रूपमा स्व. सुमन गोलेकी धर्मपत्नी, मकवानपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष देव घिमिरे र कोषाध्यक्ष बिरु गुरुङको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरू उमेश स्याङ्बो, प्रदीप लामिछाने, कुमार गोले, नरेन्द्र मोक्तान र दिनेश ढकाललगायत स्थानीय खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम ब्याडमिन्टन प्रतियोगिताका संयोजक बाबुराम वाईबाको व्यवस्थापन एवम् सहजीकरणमा सम्पन्न भएको हो। विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रका साथै आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताले नगरभित्रका खेलाडीहरूलाई एउटै मैदानमा जोड्दै भाइचारा र मैत्रीपूर्ण सम्बन्ध कायम गराउन ठूलो योगदान पुर्याएको आयोजकले जनाएको छ।



















