हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नगर क्षेत्रभित्र बिनास्वीकृति र रातारात ‘Xtreme Energy Drink’ का विज्ञापन बोर्डहरू राखिनुलाई राज्यसंरचनामाथिकै चुनौती भएको बताएकी छन्। असोज २७ गते मंगलबार बिहान हेटौँडा शहरका विभिन्न सडकमा रहेका पोलहरूमा एक्कासि विज्ञापन बोर्डहरू देखिएपछि नगर प्रमुख लामाले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो कदम नियमविपरीत रहेको जानकारी दिएकी हुन्।
नगर प्रमुख लामाका अनुसार उपमहानगरपालिका भित्र कस्ता विज्ञापन गर्न दिने र त्यसको राजस्व दररेट के कस्तो हुने भन्ने स्पष्ट कानुनी कार्यदिशा र मापदण्ड छ। तर, यी सबै कानुनी प्रक्रिया र मापदण्डलाई मिचेर रातारात विज्ञापन बोर्ड राख्ने हर्कत गरिएको उनको भनाइ छ। बिनाअनुमति र बिनासम्झौता यसरी शहरबजारका पोलहरूमा बोर्ड राख्नुले देशका संरचनामाथि धज्जी उडाएको र सिङ्गो नगरपालिका यस विषयमा बेखबर रहेको उनले उल्लेख गरेकी छन्।
नगरपालिका र नगरवासीको अपमान हुने गरी नियमविपरीत बोर्ड राखिएको भन्दै उपमहानगरपालिकाले तत्कालै ती सम्पूर्ण विज्ञापन बोर्डहरू हटाउन लगाएको छ। नगर प्रमुख लामाले हेटौँडामा ‘Xtreme Energy Drink’ को विज्ञापन गर्ने ठेक्का कसले लिएको हो भन्ने स्पष्ट नभएको र बिनासम्झौता गैरकानुनी काम गर्ने उक्त विज्ञापन कम्पनीको खोजखबर तथा छानबिन उपमहानगरले सुरु गरिसकेको जानकारी दिएकी छन्।
यसरी पूर्वस्वीकृतिबिना सरकारी तथा सार्वजनिक पूर्वाधार प्रयोग गरेर विज्ञापन राख्ने प्रवृत्तिप्रति कडाइ गर्दै उपमहानगरपालिकाले आफ्ना कानुनी दायरा र सौन्दर्य कायम राख्न कदम चालेको नगर प्रमुख लामाको भनाइ छ। हेटौँडामा बिनासम्झौता जसले पाए उसैले बोर्ड राख्दै जाने स्थिति आउन नदिन सम्बन्धित कम्पनी वा निकायलाई कानुनी दायरामा ल्याउने दिशामा नगर अघि बढेको उनले स्पष्ट पारेकी छन्।




















