हेटौँडा, असोज २६ गते।
बढ्दो प्रविधिको गलत प्रयोग र कुलतका कारण समाजमा निम्तिएका जटिल समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा साइबर अपराध तथा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। हेटौँडा-१५ वडा कार्यालयको सहयोग एवम् सहकार्यमा सञ्चालित सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् वडा अध्यक्ष सुनिल मोक्तानले सामाजिक चेतना र सतर्कताले मात्रै स्वस्थ, सुन्दर र सुरक्षित समाजको निर्माण सम्भव हुने बताउनुभयो।
सम्बोधनका क्रममा प्रमुख अतिथि मोक्तानले जानेर वा नजानेर दिनप्रतिदिन धेरै मानिसहरू साइबर अपराध र लागूऔषधको दुर्व्यसनमा फसिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले प्रहरी प्रशासनमा पनि साइबर अपराध, सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेलिङ र मोबाइलको गलत प्रयोगका उजुरीहरू लगातार बढिरहेका छन्। अर्कातर्फ हाम्रा युवाहरू लागूऔषधको कुलतमा फसेर धेरै परिवार र समाज नै बर्बाद भइरहेको अवस्था छ। यस्तो गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै हामीले यो सचेतना अभियान सुरु गरेका हौँ।” उहाँले कार्यक्रममा सिकेका र छलफल गरिएका कुराहरूलाई टोल-टोल र छिमेकसम्म पुर्याउन सके मात्रै अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहजकर्ताको रूपमा रहनुभएका मामाघर नेपालका सञ्चालक एवं हेटौंडा क्याम्पस प्राध्यापक डा. अर्पण पराजुलीले पावरपोइन्ट प्रिजेन्टेसन (PowerPoint Presentation) मार्फत साइबर अपराधका प्रकार, मोबाइल तथा इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र लागूऔषध दुर्व्यसनका गम्भीर असरहरूबारे प्रस्ट पार्नुभएको थियो। त्यसैगरी, अर्का सहजकर्ता शान्ति कार्कीले समाजमा महिला तथा युवाहरू कसरी साइबर अपराध र कुलतको जोखिममा पर्छन् र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यावहारिक सहजीकरण गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य मिनु विकलगायत स्थानीय बुद्धिजीवी, युवा तथा महिलाहरूको उपस्थिति रहेको थियो। वडाभित्र कुल चार चरणमा सञ्चालन गरिने यस अभियानको आज पहिलो चरण सम्पन्न भएको र बाँकी तीन स्थानमा पनि छिट्टै कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।



















