हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा, असोज २५ गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। हटियास्थित ब्याडमिन्टन कभर्डहलमा आयोजित एक विशेष समारोहका बिच बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।

​हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। उहाँले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गरेर वडा कार्यालयले खेलकुद विकासका साथै सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो।

​प्रतियोगितामा जिल्लाका प्रतिष्ठित खेलाडी तथा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत खुल्ला विधामा १२ वटा टोली र भेट्रान्स विधामा १२ वटा टोली गरी कुल २४ वटा टिम प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै विधाका विजेता तथा उपविजेता टोलीहरूले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

​कार्यक्रममा मकवानपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष देव घिमिरे, खेलकुदप्रेमी दिनेश ढकाललगायत स्थानीय संघ-संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, खेल प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो। ब्याडमिन्टन प्रतियोगिताका संयोजक बाबुराम वाईबाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो उद्घाटन कार्यक्रमको सञ्चालन भीम तिमल्सिनाले गर्नुभएको थियो।

​गत भोटेकोशी बाढी तथा विभिन्न विपद्मा परी अकालमै ज्यान गुमाएका स्थानीय युवा स्व. सुमन गोले र स्व. रमेश मगरको स्मृतिमा समर्पित यस प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुनेछ। आगामी असोज २७ गते हुने फाइनल प्रतिस्पर्धासँगै विजेता तथा उपविजेता खेलाडीहरूलाई भव्य समारोहका बिच पुरस्कार वितरण गरिने आयोजक समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.