हेटौंडामा ‘वडा अध्यक्ष फिटनेस अभियान’ सम्पन्न: स्वास्थ्य समाज निर्माणका लागि जिम र जुम्बाका प्रशिक्षकलाई तीन दिने तालिम

हेटौंडा, असोज २४ ।
“स्वास्थ्य युवा, अनुशासित समाज, समृद्ध वडा” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका १५ नं. वडा कार्यालयको आयोजनामा सञ्चालित ‘अन्तर नगर वडा स्तरीय वडा अध्यक्ष फिटनेस अभियान-२०८१’ अन्तर्गत तीन दिने जिम तथा जुम्बा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हेटौंडा-४ स्थित होटल सामनामा आयोजित उक्त तालिम कार्यक्रममा हेटौंडाका विभिन्न जिम तथा जुम्बा क्लबका गरी ३९ जना प्रशिक्षकहरूले उत्साहजनक सहभागिता जनाउँदै व्यावसायिक प्रशिक्षण प्राप्त गरेका छन्।

​कार्यक्रम हेटौंडा उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष सुनिल मोक्तानको सभाअध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सुनिल लोप्चनको संयोजनमा भएको उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक श्रीनिवास ठन्दासले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन कलिउड फिटनेस सुपर डान्स प्रा. लि. का सञ्चालक सुजन श्रेष्ठले गर्नुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले समाजमा भौतिक विकास मात्र पर्याप्त नहुने बताउनुभयो। उहाँले सामाजिक र मानसिक विकासका साथै स्वस्थ समाज निर्माण भएन भने केवल भौतिक विकासको कुनै अर्थ नरहने स्पष्ट पार्नुभयो। यस्ता स्वास्थ्य र फिटनेस सम्बन्धी कार्यक्रमहरूले नागरिकहरूमा सकारात्मक सोचको अभिवृद्धि गराउनुका साथै एक अनुशासित र निरोगी समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

​सोही अवसरमा सभाअध्यक्ष एवं १५ नं. वडा अध्यक्ष सुनिल मोक्तानले नगरबासीको स्वास्थ्य र समृद्धिलाई ध्यानमा राखेर नै यो अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले नगर क्षेत्रभित्र सञ्चालित जिम र जुम्बा क्लबहरूले नागरिकलाई शारीरिक रूपमा स्वस्थ राख्न खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक र जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​हाल हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र २० वटा भन्दा बढी जिम तथा जुम्बा क्लबहरू सञ्चालनमा रहेका छन्, जहाँ १० हजार भन्दा बढी मानिसहरू नियमित रूपमा फिटनेस गतिविधिमा जोडिएका छन्। यस तालिमबाट प्रशिक्षित ३९ जना प्रशिक्षकहरूले आ-आफ्नो क्लबमा फर्किएर अझ प्रभावकारी र वैज्ञानिक ढंगले प्रशिक्षण दिने र यसले हेटौंडाको फिटनेस क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.