काठमाडौं ।
जनप्रशासन क्याम्पस, बल्खुमा विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ चाडपर्वको शुभकामना आदानप्रदान समारोह सम्पन्न भएको छ। क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा मौलिक सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, सेवानिवृत्त कर्मचारी सम्मान, पुरस्कार वितरण तथा BPA ब्याच २०७८ को बिदाइ कार्यक्रम एकसाथ आयोजना गरिएको हो। कार्यक्रम बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सरल सहयात्री पौडेलले स्ववियुको ऐतिहासिक पृष्ठभूमि र आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँले विद्यार्थीहरूको हकहित, नेतृत्व विकास र अनुशासित शैक्षिक वातावरण निर्माणमा स्ववियुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। साथै, विद्यार्थी सङ्गठनहरूलाई केवल राजनीतिक गतिविधिमा मात्र सीमित नभई विद्यार्थीका शैक्षिक मुद्दा, अधिकार र समग्र व्यक्तित्व विकासका विषयमा जिम्मेवार ढङ्गले क्रियाशील हुन आग्रह गर्नुभयो।
मन्त्री पौडेलले बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुरूप विश्वविद्यालयको शिक्षालाई गुणस्तरीय, व्यावहारिक, अनुसन्धानमुखी र समयसापेक्ष बनाउनुपर्नेमा विशेष जोड दिनुभयो। “विश्वविद्यालयको शिक्षा प्रमाणपत्र प्राप्तिमा मात्र सीमित हुनु हुँदैन,” मन्त्री पौडेलले भन्नुभयो, “यसले विद्यार्थीमा ज्ञान, सीप, आलोचनात्मक चेतना र सामाजिक उत्तरदायित्वको भाव विकास गर्न सक्नुपर्छ।”
नेपालको सार्वजनिक प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्न जनप्रशासन क्याम्पसले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले प्रशासनिक क्षेत्रलाई अझ प्रभावकारी, पारदर्शी, जवाफदेही र जनमुखी बनाउन आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र नागरिकप्रतिको दायित्व संस्थागत गर्न शैक्षिक क्षेत्रबाट हुने अध्ययन, अनुसन्धान र विमर्शको भूमिका निर्णायक हुने उहाँको भनाइ थियो।
मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए। सोही अवसरमा क्याम्पसमा लामो समय सेवा गरेर सेवानिवृत्त भएका कर्मचारीहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण र BPA २०७८ ब्याचका विद्यार्थीहरूलाई बिदाइ गरिएको थियो। शैक्षिक उपलब्धि, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई एउटै मञ्चमा जोड्ने यस कार्यक्रमले क्याम्पस परिवारबीचको सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।



















