हेटौँडा। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते भेटिएको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको मृतकको स्केच, कपडा, खुट्टाको बिछिया, कानको मुन्द्रा, हातको लहठी र नाकको फुलीका आधारमा पहिचान खुलेको हो। अनुसन्धानका क्रममा मृतक भारतको बेतिया बैरिया थाना सरैया भटवलियाकी २२ वर्षीया अफ्रिना प्रविन (रुची खातुन) रहेको पुष्टि भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिला घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोक, गणेश मार्ग टोलमा कोठा भाडामा बस्दै आएकी थिइन्। उनी भारत घर बताउने २७ वर्षीय राहुल कुमार गुप्ता (ईश्वर कुमार) सँगै बस्दै आएको घरधनीमार्फत खुलेको थियो। उनी गत वैशाख ९ गते श्रीमान्को घरबाट ६ महिनाकी छोरीसहित दाँतको उपचार गर्न जाने भनी निस्किएपछि हराएकी थिइन्, जसको खोजतलासका लागि बेतिया प्रहरी थानामा निवेदनसमेत परेको थियो।
घटनामा संलग्नताको आधारमा प्रहरीले राहुल कुमार गुप्तामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। मृतककी आमा फातमा खातुनले गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुप्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। अनुसन्धानकै क्रममा विधि विज्ञान प्रयोगशालाबाट प्राप्त डिएनए (DNA) रिपोर्टमा आमाको नमुनासँग मृतकको डिएनए शतप्रतिशत मेल खाएपछि गत असोज १६ गते आमा फातमा खातुनले शव बुझेर लिएकी छन्।
कर्तव्य गरी हत्या गरिएको उक्त घटनाका मुख्य अभियुक्त राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमार हाल भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन्। भारतको नगर थाना बेतियामा समेत उनीविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान भइरहेकाले उनी हाल भारतकै कारागार कार्यालय बेतियामा थुनामा रहेको मकवानपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा दुवै देशका प्रहरीको समन्वयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।










