हेटौँडा। बागमती प्रदेश सरकारले संविधान कार्यान्वयनको प्रभावकारितालाई नागरिकको दैनिक जीवनसँग जोड्दै विपद् पुनर्निर्माण, सुशासन कायम र सहकारी क्षेत्रको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापाले संविधानको सफलता कागजी दस्तावेजमा नभई नागरिकले पाउने सहज सेवा र अनुभूतिमा आधारित हुने बताउनुभयो।
यस वर्षको संविधान दिवसलाई विपद्को पीडा र पुनर्निर्माणको सङ्कल्पका रूपमा लिइएको छ। भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको भीषण जलप्रलयका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापाले प्रभावित परिवारलाई उद्धार, राहत र पुनस्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले सङ्घीय र स्थानीय सरकारसँगको समन्वयमा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा नागरिकको जीविकोपार्जन पुनरुत्थानका कार्यलाई तीव्र गतिमा अघि बढाइने जानकारी दिनुभयो।
सङ्घीयता कार्यान्वयनको मूल आधार अधिकार, जिम्मेवारी र स्रोतको उचित सन्तुलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश सरकार नागरिक र सङ्घीय ढाँचाबीचको महत्त्वपूर्ण सेतु भएको बताउँदै उहाँले प्रदेशका लागि आवश्यक कानून, पर्याप्त स्रोत-साधन र जनशक्तिको व्यवस्थापनमार्फत संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गरिने बताउनुभयो।
प्रशासनिक ढिलासुस्ती, विकास आयोजनामा सुस्तता, युवा पलायन र भ्रष्टाचारजस्ता गम्भीर चुनौतीप्रति संवेदनशील बन्दै प्रदेश सरकारले सार्वजनिक खर्चमा अनुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। मुख्यमन्त्री थापाले प्रशासनिक संरचनालाई सरल र परिणाममुखी बनाउँदै नागरिकमा घट्दै गएको सार्वजनिक संस्थाप्रतिको विश्वास पुनःस्थापना गर्न आरोप-प्रत्यारोपभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सर्वसाधारण नागरिकको आर्थिक सुरक्षासँग जोडिएको सहकारी क्षेत्रको सङ्कट समाधान गर्न बागमती प्रदेश सरकारले विशेष पहलकदमी लिने भएको छ। सहकारी संस्थाहरूमा सुशासन, पारदर्शिता र प्रभावकारी नियमन कायम गर्दै पीडित बचतकर्ताहरूलाई न्याय दिलाउने र उनीहरूको हित संरक्षण गर्ने कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री थापाले घोषणा गर्नुभयो।



















