संविधान दिवसको अवसरमा हेटौंडामा विशेष वृक्षरोपण कार्यक्रम सम्पन्न

हेटौंडा, २ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को पावन अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश कृषि, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्।

​कार्यक्रम बागमती प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षता एवं आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पौडेलले संविधान दिवसको सन्दर्भमा गरिएको वृक्षरोपणले पर्यावरण सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षण र गोडमेलमा सबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो।

​सो अवसरमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, राष्ट्रिय सेवक कर्मचारीहरू, सुरक्षाकर्मीहरू, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा उत्साहजनक रूपमा बिरुवा रोप्दै संविधान दिवस मनाएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.