मकवानपुर — निर्माण व्यवसायी संघ मकवानपुरको हालै सम्पन्न अधिवेशनमा प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहनुभएका युवा व्यवसायी चेत बहादुर थापा मगरले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका क्रममा भएका आन्तरिक सहमति, नेतृत्वको भूमिका र दलीय निष्ठाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ। नेपाल निर्माण उद्योग परिषद मकवानपुरका सचिव समेत रहनुभएका थापाले विज्ञप्ति मार्फत आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई नेकपा एमाले जिल्ला कमिटीको निर्णय र सल्लाह अनुसार नै तय गरिएको स्पष्ट पार्नुभएको छ। निर्वाचनअघि नेपाली कांग्रेससँग ३ वटा पदाधिकारी नपाए राजेन्द्र चौलागाईंलाई अध्यक्ष बनाएर नेकपासँग सहकार्य गरी अघि बढ्ने एमालेको आन्तरिक निर्णय भए पनि सो अनुसार वातावरण नबनेपछि पार्टीकै निष्कर्ष बमोजिम आफू मैदानमा उत्रिएको उहाँको दाबी छ।
विज्ञप्तिमा चुनावी क्रममा आफ्नै पार्टीभित्रका केही जिम्मेवार व्यक्तिहरूले खेलेको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। आफ्नै उम्मेदवारलाई जिताउनुपर्ने निर्वाचनमा पार्टीका जिम्मेवार नेताहरूले सामाजिक सञ्जालदेखि निर्वाचनस्थलसम्मै विपक्षी उम्मेदवारको प्यानल सूची बोकेर मत मागेको र खुल्ला रूपमा ‘मत नदिने’ धम्कीपूर्ण व्यवहार देखाएको थापाको आरोप छ। यस्तो घेराबन्दी र आन्तरिक अन्तर्घातका बाबजुद आफूले १११ मत प्राप्त गरेको र पार्टीभित्रैबाट अन्य उम्मेदवारका पक्षमा गएको भनिएको १०५ मत एकीकृत भएको भए एमालेले थप पदहरू हासिल गर्न सक्ने सम्भावना रहेको उहाँले आँकडा प्रस्तुत गर्नुभएको छ।
आफूले कसैप्रति व्यक्तिगत आरोप वा विवाद सिर्जना गर्न नभई सत्यतथ्य जानकारी गराउन विज्ञप्ति निकालेको बताउँदै थापाले यस हार-जितलाई केवल व्यक्तिगत रूपमा मात्र नहेरी पार्टीको निर्णय, आन्तरिक एकता र राजनीतिक रणनीतिसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्नुभएको छ। नेकपासँगको सहकार्यले आगामी दिनमा कम्युनिष्ट शक्तिहरूबीच सकारात्मक वाम एकताको आधार तयार पार्न सक्ने सम्भावनालाई नेतृत्वले बेवास्ता गरेको सङ्केत गर्दै उहाँले सिङ्गो घटनाक्रम, उम्मेदवारीको उद्देश्य र प्राप्त मतपरिणामको राजनीतिक तथा सङ्गठनात्मक मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बन्धित नेतृत्वकै भएको बताउनुभएको छ।












