निर्माण व्यवसायी संघ मकवानपुरको २६ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

हेटौंडा — निर्माण व्यवसायी संघ मकवानपुरको २६ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीका समस्या, चुनौती र आगामी कार्यदिशाका विषयमा व्यापक छलफल भएको छ।

​कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँ रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले निर्माण क्षेत्रको विकास र निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि राज्य तथा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

​उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्यहरू एकलाल श्रेष्ठ र भारती पाठकको उपस्थिति रहेको थियो। त्यसैगरी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति संजिव पाठक तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

​कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो। साधारण सदस्यहरूको तर्फबाट निर्माण न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, संघका पूर्व अध्यक्ष खड्ग बहादुर गोपाली, राजनीतिक दलका तर्फबाट रास्वपाका संजिव पाठक, स्थानीय तहका तर्फबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिसस प्रमुख ललित घलान, भक्तपुर निर्माण व्यवसायी संघका अध्यक्ष विजय देउजा, प्रदेश सभा सदस्य भारती पाठक, केन्द्रीय सदस्य राजेश गौतम, प्रमुख सल्लाहकार जयराम लामिछाने, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ र प्रमुख अतिथि इन्द्र बहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो।

​सोही अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरलाई विविध क्षेत्रमा उल्लेख्य सहयोग पुर्‍याएको भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष संजिव श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। संघले संस्थागत विकास र निर्माण क्षेत्रको सहजीकरणमा सहयोग पुर्‍याउने जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै सम्मान प्रदान गरेको हो।

​उद्घाटन सत्रको समापनसँगै संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तथा बन्द सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ। आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.