रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीले घरबारविहीन बनाएका नागरिकका लागि हेटौंडाका स्थानीय बासिन्दाले गास काटेर पठाएको सानो-सानो सहयोग एकत्रित हुँदा ठूलो सहारा बनेको छ। विपद्मा परेका सुदूरका छिमेकीलाई सघाउन हेटौंडाका टोल-टोलमा पुगेर सङ्कलन गरिएको रकमले दूरदराजका बाढीपीडितको उद्धार र पुनर्स्थापनामा नयाँ आशा थपेको छ। कुनै ठूला संस्था वा कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व कोषबाट नभई, सर्वसाधारण नागरिकका घरदैलोबाट संकलित १९ लाख रुपैयाँ बराबरको सहयोगले विपद् व्यवस्थापनमा स्थानीय समुदायको शक्ति उजागर गरिदिएको छ।
हेटौंडाका विभिन्न टोल विकास संस्थाहरूले नगर समन्वय समितिमार्फत सञ्चालन गरेको घरदैलो अभियानबाट कूल १८ लाख ८६ हजार ६०४ रुपैयाँ रकम जम्मा भएको छ। हेटौंडाका आम नागरिक, पदाधिकारी तथा सदस्यहरूले स्वतःस्फूर्त रूपमा दिएको यो रकम बिहीबार हेटौंडामा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको भौचरमार्फत हस्तान्तरण गरियो। कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीलाई उक्त भौचर सुम्पँदै हेटौंडेली जनताको सहनुभूति र ऐक्यबद्धता बाढीपीडितसम्म पुर्याउन अनुरोध गरे।
सरकारी निकायले विपद्को समयमा आफ्ना संयन्त्र परिचालन गरिरहँदा स्थानीय समुदाय स्वयं संगठित भएर सरकारको हात मजबुत बनाउन अघि सर्नुले नागरिक दायित्वको बलियो झल्को दिएको छ। कार्यक्रममा रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रत्येक व्यक्ति र घरसम्म पुगेर संकलन गरिएको यो सहयोग रकम केवल आर्थिक योगदान मात्र नभएर पीडितप्रतिको गहिरो आत्मीयता भएको बताए। विपद् व्यवस्थापनमा सरकारी प्रयास पर्याप्त नहुने भन्दै उहाँले नागरिक र सामुदायिक संस्थाहरूको यस्तो सहकार्यले मात्र वास्तविक राहत र पुनर्स्थापना सम्भव हुने धारणा राखे।
हेटौंडाको यो कदमले अप्ठ्यारो पर्दा एउटा भूगोलका नागरिक अर्को भूगोलको दुखाउमा कसरी मलम बन्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको छ। नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीका अनुसार यो अभियान केवल रकम संकलनमा सीमित नरहेर कठिन परिस्थितिमा परेका दाजुभाइ दिदीबहिनीप्रतिको मानवीय एकताको प्रतीक हो। सहयोग सङ्कलनमा उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, उपमहासचिव देवकुमार श्रेष्ठ, कोषाध्यक्ष गीता मैनाली, सचिव सुशीला मल्ल लगायत वडा र टोल तहका संयोजकहरू निरन्तर खटिएका थिए।
भोटेकोशीको बाढीले रसुवामा पुर्याएको क्षति पछि अहिले स्थानीयहरू पुनर्स्थापनाको पर्खाइमा छन्। हेटौंडाका टोल विकास संस्थाहरूले हस्तान्तरण गरेको यो रकमले पीडितहरूको घाउमा केही हदसम्म मलम लगाउने अपेक्षा गरिएको छ। यस अभियानले आगामी दिनमा आउने जुनसुकै विपद्मा पनि राहत, उद्धार र पुनर्स्थापनाका लागि समुदाय तहबाटै अग्रसरता लिने र सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धतालाई थप मजबुत बनाएको छ।










